समाचार

हात्ती महोत्सवमा रु तीनलाख नाफा

चितवन । चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा रु तीन लाख नाफा भएको छ ।

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ ।

चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्सवमा कूल रु ३८ लाख ७८ हजार ७०० आम्दानी भएको र रु ३५ लाख ७४ हजार ८५५ खर्च भएको जानकारी दिनुभयो ।

धेरै हात्तीका गतिविधि समेटेर आयोजना हुने चितवन हात्ती महोत्सव नेपालकै पहिलो र एक मात्रै महोत्सव हो । सो महोत्सवमा हात्ती दौड, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी, हात्ती शृंगार, हात्तीको पिकनिक लगायतका कार्यक्रम भएका थिए ।

सो क्रममा क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले यो वर्ष चितवनको पर्यटन विकासका लागि छिमेकी जिल्लासहित भारतमा समेत प्रचार अभियान सञ्चालन गरिने बताउनुभयो ।

नेपाल पर्यटन वोर्ड, रत्ननगर नगरपालिका तथा विभिन्न संघसंस्थाको सहकार्यमा पर्यटन प्रचार अभियान हुने जनाइएको छ । अहिलेसम्म सौराहामा ३० प्रतिशत आन्तरिक पर्यटक आएकाले यसलाई ५० प्रतिशत बनाउन सके पनि पर्यटन व्यवसाय फस्टाउनेमा घिमिरेको जोड छ । चितवनको सौराहामा सुविधायुक्त ११० होटल छन् भने करिब ६० वटा रेस्टुरेन्ट छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ । चितवनमा वार्षिक करिब दुई लाख पर्यटक आउने तथ्यांक छ ।

क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै सौराहालाई नमूना पर्यटन क्षेत्रका रुपमा विकास गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष हरिभक्त घिमिरेले सौराहा शहरका घरहरुमा एकरुपता (एकै रंगको बनाउने लगायत) ल्याई पर्यटन विकास गर्नेुपर्ने औँल्याउनुभयो । संघको साधारणसभामा रु १७ लाख १५ हजार बराबरको आर्थिक प्रतिवेदन सचिव दामोदर रेग्मीले प्रस्तुत गर्नुभएको थियो ।

सो क्रममा रेवान, सौराहाका अध्यक्ष गोकर्ण गिरी, वासुदेव ढुंगाना, बलराम दाहाल, विष्णु लामिछाने लगायतको सहभागिता रहेको थियो । रासस