अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

सोल । हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ ।

सो प्रयोजनका लागि दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञ मङ्गलबार अमेरिकाको भ्रमणमा जान लाग्नुभएको दक्षिण कोरियाली विदेश मन्त्रालयबाट प्राप्त समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली उपविदेशमन्त्री लिम सोङ नाम मगङ्लबार अमेरिका जान लागेका छन् । उनी आगामी शनिबारसम्म नै अमेरिकामा रहने बताइएको छ ।

त्यस भ्रमणका क्रममा उनले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा अमेरिकी उप विदेशमन्त्री जोन सुलिभानलाई जानकारी दिने बताइएको छ ।

नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेश मन्त्री जोन सुलिभानका साथै अन्य विशिष्ठ अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक मन्त्रीस्तरको उच्चस्तरमा वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालई दुई कोरियाको सम्बन्ध सुधारका रुपमा विश्वमा नै प्रचार गरिएको छ ।

यस वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो वार्ताको स्वागत गरेका थिए ।
साथै उहाँले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने धारणा सार्वजनिक गरेका थिए । उनले यसै वार्ताबाटै अघि बढ्न र कोरियाली प्रायद्धीपमा जारी अशान्तिको अवस्थाको अन्त्य गर्न पनि दुबै कोरियाली नेतृत्वसँग आग्रह गरेका थिए ।

विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्चस्तरीय वार्ता जारी रहेकै बेला दक्षिण कोरियाली उच्च कूटनीतिज्ञको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

दुई देशका अधिकारीबीच सोमबार पनि सोलमा वार्ता भएको छ । सो वार्ता आगामी ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताका विषयमा बढी मात्रामा केन्द्रित भएको बताइएको छ ।

अर्को महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीको बारेमा आवश्यक छलफलका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार बसेको थियो ।

कार्य समूहको बैठक नाम दिइएको सो बैठकमा दुवै देशका तर्फबाट चार चार जना उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
यसअघि यही जनवरी ९ मा दुवै कोरियाको बैठक दक्षिण कोरियामा बसेको थियो । उक्त बैठकमा उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको थियो ।

पछिल्लो समयमा दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । गएको जनवरी १ मा नयाँ वर्षको अवसर पारी देशवासीका नाममा गरेको सम्बोधनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले एक आपसमा वार्ताको प्रस्ताव स्वीकार गरेका थिए ।