पु.समाचार

पैँसट्ठी वर्ष नाघेका कैदीमध्ये सबैभन्दा बढी करणी मुद्दाका

काठमाण्डौ । मुलुकको सबैभन्दा ठूलो कारागार जगन्नाथदेवल कारागारमा रहेका ज्येष्ठ कैदीबन्दीमध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीको मुद्दाका छन् ।

जगन्नाथदेवलमा जेलजीवन बिताएका ६५ वर्ष नाघेका ४५ ज्येष्ठ कैदीबन्दीमध्ये १५ जना जबर्जस्ती करणीमा जेलजीवन बिताइरहेका हुन् । पैँतालिसमध्ये तीन महिला र ४२ पुरुष रहेका छन् ।

यस्तै कर्तव्य ज्यानमा ११, लागुऔषधमा छ, ठगीमा चार, खोटाचलनमा एक, वन मुद्दामा दुई, बालयौन दुराचारमा दुई जनाले जेलजीवन बिताएको जेलर गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

महिलामा सबैभन्दा धेरै ७८ वर्ष उमेरका सीतादेवी सिख्राकार र चिनियादेवी ताम्राकारले ठगी मुद्दामा जेलजीवन बिताइरहेकामा सीतादेवीको एक वर्ष र चिनियादेवीको दुई वर्ष कैद तोकिएको छ ।

यस्तै पुरुषमा महोत्तरी लोहपट्टीका ७७ वर्षीय चन्द्रेश्वर मण्डल रहेका छन् । उनी कर्तव्य ज्यानको मुद्दामा २०६९ साउनदेखि २० वर्षका लागि जेलजीवन बिताइरहेका छन् ।

जेलजीवन बिताइरहेका सात विदेशी ज्येष्ठ नागरिकमध्ये ज्यान मार्ने उद्योगमा जेलजीवन बिताइरहेका फ्रान्सका ७३ वर्षीय चाल्र्स शोभराज सबैभन्दा वृद्ध हुन् ।

जबर्जस्ती करणीमा भारत उत्तर प्रदेशका ६५ वर्षीय राम सिंह, खोटाचलनमा पाकिस्तानका ६५ वर्षीय मोहमद अकबर, बाल यौन दुराचारमा साउदी अरबका ६६ वर्षीय बाबरी सेख मोहम्मद र नेदरल्याण्डका ७२ वर्षीय हेन्रीकस एड्रिनस, लागुऔषधमा पाकिस्तानका ६५ वर्षीय अट्टा मोहम्मद साह, भारतका ७० वर्षीय महेन्द्र ठाकुरले जेलजीवन भोगिरहेका छन् ।

नेपालको ७७ जिल्लामध्ये हाल ७२ जिल्लाका ७४ स्थानमा कारागार छ भने भक्तपुर, बारा, धनुषा र अहिले नयाँ बनेका नवलपुर, रुकुम पूर्वी भागमा कारागार छैन ।

कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे हाल देशभर १८ हजार ५०० को हाराहारीमा कैदीबन्दी रहेको बताउँछन् । “दिनदिनै कैदीबन्दी आउने र जाने भएकाले यति नै संख्यामा छन् भन्ने यकीन गर्न गाह्रो हुन्छ,” उनी भन्छन् ।

विसं १९७१ मा स्थापना भएको मुलुककै सबैभन्दा पुरानो जगन्नाथदेवल कारागारमा हाल तीन वटा बन्दीगृह छ् । कूल दुई हजार ५६१ कैदीबन्दी रहेको यस केन्द्रीय बन्दीगृहमा एक हजार ५६७, भद्रगोल बन्दीगृहमा ६५७ र महिला बन्दीगृहमा ३३७ कैदीबन्दी छन् ।

जेलजीवन भोगेका महिलाको बालबच्चालाई कारागारले १० नाबालकलाई संरक्षणमा राखेको छ । एकसय तीन वर्ष पुरानो यस कारागारमा कैदीबन्दी राख्ने भवन जीर्ण भएकाले व्यवस्थापनमा समस्या परेको जेलर भट्टराई बताउँछन् ।

कैदीबन्दीको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २०० भन्दा बढी सुरक्षाकर्मी खटाएको छ । उक्त कारागारको सुरक्षामा खटिनुभएका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा धेरै कैदीबन्दी र कारागारको कमजोर संरचनाका कारण सुरक्षामा समस्या पर्दै गएको बताउँछन् । उक्त कारागारबाट केही महिना अगाडि दुई कैदीबन्दी भागेका थिए ।