राजनीति

विधिले चल्न सकेनौं भने हतियार हाबी हुन्छः चन्द्र भण्डारी

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले मुलुक विधिअनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार राजधानीमा भएको एक साक्षात्कारमा नेता भण्डारीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘हामी सबै दल गम्भिर बन्नुपर्छ, विधिले चल्न सकेनौं भने हतियार हाबी हुन्छ, यतातर्फ सबैको ध्यान जाओस् ।’

भण्डारीले राजनीति जनताप्रति उत्तरदायी हुनुपर्नेमा समेत जोड दिए । उनले थपे, ‘राजनीति भनेको नेताले आफ्नो दुनो सोझ्याउने काम मात्रै होईन, जनताको हालत अहिले के छ ? यतातिर सोच्नुपर्छ, देश र जनताको आर्थिक क्षमता अभिवृद्धि गर्नेतिर सबैले गम्भिर भएर सोच्नुपर्छ ।’

भण्डारीले आफूहरुले जारी गरेको संविधानका हरेक शब्दहरुको व्याख्या अदालतले गर्नुपर्ने अवस्था भएकोले हचुवाको तालमा जे मन लाग्यो, त्यही बोल्न नहुने धारणा राखे । उनले कांग्रेस पनि विधिले चल्नुपर्नेमा जोड दिए । उनले थपे, ‘काँग्रेस पनि विधिले चल्नुपर्यो, काँग्रेस त पाठशाला हो, हाम्रो पाठशालाबाट मदन भण्डारीले सिक्नुभयो । अहिले हामी नै संस्कारविहिन भएका छौं, काँग्रेस मियो हो, तर यहाँ विधि हराएको छ ।’ चुनाव जित्दैमा कोही पनि मात्तिन नहुने र हार्दैमा आत्तिन नहुने उनले धारणा राखे ।