राजनीति

काँग्रेसभित्र युवा नेता सक्रिय, काँग्रेसलाई शुद्धीकरण गर्न माग

काठमाण्डौ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीसहित १० युवा नेताले हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्न महासमिति बैठक बोलाउन माग गरेका छन् । उनीहरूले काँग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भए पनि काँग्रेसले हार्नुको कारण पत्ता लगाई काँग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्न वैचारिक जागरण अभियान सुरु गर्ने उद्घोष गरेका हुन् ।

उनीहरूले मंगलबार अघि सारेको १५ बुँदे अभियानमा विधानबमोजिम तत्काल महासमिति बैठक बोलाउन र समानुपातिकबाट एक पटक सांसद बनेको व्यक्तिलाई कुनै पनि हालतमा दोहोर्‍याएर सांसदमा सिफारिस नगर्न माग गरेका छन् । उनीहरूले ‘युवाहरूको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तिमा ५० प्रतिशत युवा प्रतिनिधित्वको ग्यारेण्टी गर्न र निर्वाचन समीक्षा टालटुले पाराले नगरी गहिराइमा छलफल गर्न विशेष छानविन समिति गठन गर्न उनीहरूले माग गरेका छन् ।

‘निर्वाचनमा आएको परिणामको सम्पूर्ण दोष र जिम्मेवारी पार्टी सभापति, वरिष्ठ नेता र महामन्त्रीलाई मात्रै नदिएर सिंगो केन्द्रीय समितिका सदस्यहरूले लिनुपर्छ’, उनीहरूले भनेका छन् ।

उनीहरूले पार्टीभित्रको गुटबन्दीको समूल अन्त्य गर्दैै पार्टीलाई एक ढिक्का बनाउन, केन्द्रदेखि गाउँ तहसम्म विचार, सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान सुरु गर्न, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक गाउँ तहसम्म प्रशिक्षण अभियान चलाउन र वीपी कोइरालाले देखाएको बाटो र विचार प्रजातान्त्रिक समाजवादबाट पन्छिएर कांग्रेस राष्ट्रिय मुद्दामा अलमल र अनिर्णयको बन्दी हुन नमिल्ले बताएका छन् ।

नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दूरी घटाएर पार्टीभित्र आपसी सद्भाव र भ्रातृत्वको भावनाको विकास सबै नेता कार्यकतामा नैतिकता, समानता र सरलतापूर्ण बोली व्यवहार हुन जरुरी रहेको भन्दै उनीहरूले देश विकासको बाधकको रूपमा रहेको भ्रष्टाचारलाई निर्मूल पार्न ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान देशभर संचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भ्रातृसंस्थालाई पूर्णता दिन, क्रियाशील सदस्यता वितरण तत्काल गर्न र पार्टीको जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमितिको आकार बढाउन पनि माग गरिएको छ ।

युवाहरूले जिल्लामा २० देखि ३० जना सदस्य थप गर्ने र पार्टीमा पदाधिकारीको संख्या थप गर्न, केन्द्रीय समितिमा खुलातर्फका केन्द्रीय सदस्य २५ बाट बढाएर ४५ र समावेसी तथा प्रदेशमा अहिलेको भन्दा दोब्बर केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न माग गरेका छन् ।

गाउँगाउँमा विकास र युवाहरूलाई स्वदेशमै रोजगारी अवसर प्रदान गर्न काँग्रेसको नेतृत्वमा ‘सुन्दर नेपाल–समृद्ध नेपाल’ अभियान सुरु गर्न पनि उनीहरूले माग गरेका छन् । अभियान सुरु गर्ने युवा नेताहरू सबै नेता रामचन्द्र पौडेल गुट निकटका छन् ।

अभियान सुरु गर्नेहरूमा तरुण दलका महासचिव शाही, महासमिति सदस्य पाँचथरका धर्मेन्द्र नेम्वाङ, दोलखाकी विनिता अधिकारी, रुकुमका खड्क डाँगी, पाल्पाकी सुनिता अधिकारी, परोहा नगरपालिकाका प्रहुख सेख वकिल, बागलुङका नेता चिरञ्जीवी गौतम, लम्जुङका नेता वृषराज गुरुङ, गुराँस गाउँपालिका अध्यक्ष खेमराज वली र पूर्व महाधिवेशन प्रतिनिधि मञ्जीत ताम्राकार रहेका छन् ।