पु.समाचार

काठमाण्डौ–निजगढ द्रुतमार्गको डीपीआर नेपाली सेनाले बनाउने, भारतीय कम्पनी आउट !

काठमाण्डौ । काठमाण्डौ–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) नेपाली सेना आफैंले बनाउने घोषणा गरेको छ । यससँगै भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ ।

सोमबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने घोषणा गरेको हो ।

आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले भनेका छन्, ‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ ।’

लामो विवादपछि माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राख्यो । शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।

अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको हो ।

भारतीय कम्पनीले मागेको मूल्य भन्दा कम रकममा नै नयाँ डीपीआर तयार हुने सेनाले बताएको छ । मूल्य मात्र नभई भारतीयकम्पनीले बनाएको डीपीआर हुबहू कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको सेनाले बताएको छ ।

विगमा एसियाली विकास बैंक (एडीबी)ले गरेको सम्भाव्यता अध्ययनका आधारमा छिट्टै डीपीआर बनाउनु पर्ने र टनेल बनाउँदा कान्तिलोकपथसँग नबाझिने गरी फेरबदल गर्नु पर्ने देखिएको सेनाले बताएको छ ।