आर्थिक

जनता बैंकले १ अर्ब ७० लाखको सेयर वितरण गर्ने

काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले १ अर्ब ७० लाख ९१ हजार ९ सय ३५ रुपैंया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको आठौँ वार्षिक साधारण सभाले आव २०७३–७४ को नाफाबाट चुक्ता पूँजीको १४ दशमलव ४ प्रतिशत रकम सेयरधनीलाई बोनस सेयर प्रदान गर्ने निणर्य गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको सभाले बोनस वितरण गर्ने प्रस्ताव पास गरेको हो । उक्त बोनस सेयरपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ७ पुगी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजीको मापदण्ड पूरा भएको छ । गत आवमा साविकका जनता बैंक, त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर बनेको जनता बैंकको मर्जरपछि यो पहिलो वार्षिक साधारण सभा हो ।

सभाले नयाँ संचालक चयन गरेको छ । त्यस्ता सञ्चालकमा केशवबहादुर रायमाझी, लंकबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र सञ्जीव न्यौपाने छन् । हाल बैंकको १ सय १३ शाखा, २६ शाखारहित बैंकिङ, २ सिमित बैंकिङ इकाए, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटीएम र १ हजार २९ कर्मचारीमार्फत बैंकले ५ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउँदै आइरहेको विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल ५२ अर्ब १७ करोड निक्षेप र ४८ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।