राजनीति

झलनाथ खनाललाई विद्या भण्डारीले राष्ट्रपति नदिने, यसरी पाउँदैछिन् ओली र दहालको साथ !

काठमाण्डौ । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुखको चर्चा चुलिँदै गएको छ । निर्वाचनमा ६०–४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति – उपराष्ट्रपति, सभामुख–उपसभामुख वाम गठबन्धनबाटै हुने देखिएको छ ।

वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीले आन्तरिक गृहकार्य तीव्र बनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ तीव्र पारेक स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीले केही दिनअघि मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका लागि रात्रि भोजको आयोजना गरेकी थिइन् ।

एमाले र माओवादी केन्द्र पार्टी एकताको क्रममा रहेको र दाहाल एकतापछिको पार्टी अध्यक्ष हुने सम्भावना रहेको अवस्थामा भएको डिनर पार्टीलाई कतिपयले राष्ट्रपतिको पुनः दोहोरिने इच्छास्वरूप दाहालसँग नजिकिने योजनाका रूपमा व्याख्या गरेका छन् । पछिल्लो समय नजिकिएका दाहाल र भण्डारीबीच पदीय बाँडफाँडका विषयमा गोप्य सहमति हुने गरेको स्रोतको दाबी छ । भण्डारीलाई अध्यक्ष ओली र अध्यक्ष दहालको समर्थन छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउने पक्षमा सकारात्मक देखिएका छन् । तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति–उपराष्ट्रपतिका साथै सभामुख–उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएका छन् । खनालले राष्ट्रपतिका लागि चासो राख्दै आन्तरिक गृहकार्य तीव्र बनाएका छन् । सक्रिय राजनीतिबाट बाहिरिने खनालको इच्छा छ ।

त्यसैले उनी राष्ट्रपति भएरै छोड्ने बताइन्छ । राष्ट्रको उच्च पदमा बस्नका लागि खनाल र भण्डारीबीच विवाद देखिएको छ । दुवैले राष्ट्रपति बन्न इच्छा देखाएपछि एमालेभित्र भाँडभैले मच्चिने स्रोतको दाबी छ । पार्टी एकतापूर्व भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति हुने गरी गृहकार्य भएको थियो । पछिल्लो समय नेता नेपाल राष्ट्रपति भन्दा पार्टीमा सक्रिय राजनीति गर्ने पक्षमा रहेका र मौका मिला आफैँ पार्टी अध्यक्ष चलाउने हैसियत म सँग भएको नेपाल आफैँ बताएँछन् ।

माओवादी केन्द्र भने प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटा एमाले र एउटा माओवादीले बाँड्नुपर्ने र राष्ट्रपति र सभामुख दुई संवैधानिक निकायसमेत एक-एक वटा बाँडफाँट गर्नुपर्ने पक्षमा छ । पद बाँडफाँटका क्रममा राष्ट्रपति माओवादीको भागमा परेको अवस्थामा नेता रामबहादुर थापालाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादी केन्द्रको योजना छ । माओवादीको औपचारिक र अनौपचारिक बैठकमा थापालाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा चर्चा भए पनि दुई पार्टीबीच पदीय बाँडफाँट भइनसकेकाले निर्णय भइसकेको छैन ।

राष्ट्रपतिमा थापा नहुने अवस्थामा उनी राष्ट्रिय सभाको उम्मेदवार बन्ने निश्चितजस्तै छ । माओवादी केन्द्रले वाम गठबन्धन निकट तर स्वतन्त्र छविको व्यक्तिलाई राष्ट्रपति बनाउन सकिनेसमेत जनाएको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत पदको विषयमा छलफल भएको तर निष्कर्षमा पुगि सकेको छैन । राष्ट्रपतिमा स्वतन्त्र छविको व्यक्तिलाई ल्याउन सकिने कतिपयले बताउँदै आएका छन् । वाम गठबन्धनभित्र पदीय भागबन्डाको विषय भने टुंगोमा पुग्न सकेको छैन । यसअघि दुई पार्टीले एक अध्यक्षले सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पार्टी अध्यक्ष हुने बताए पनि सहमति जुट्न बाँकी छ ।

गत २५ पुसमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार, सभामुख तथा राष्ट्रिय सभाको उम्मेदवारको गृहकार्यका लागि दुवै पार्टीबाट ३–३ जना सदस्य रहने गरी एक कार्यदल गठन गरेको थियो ।

समितिको बैठकले अब बस्ने बैठकमा पार्टी एकताका लागि सांगठनिक र वैचारिक विषयमा गृहकार्यका लागि कार्यदल गठन गर्ने नेताहरूले बताएका छन् । एमाले अध्यक्ष ओली उपचारपछि बिहीबार स्वदेश फर्किएसँगै चाँडै पार्टी एकता संयोजन समितिको बैठक बसेर एकतालगायत विषयमा सहमतिमा पुग्ने विश्वास लिइएको छ ।