राजनीति

प्रदेश प्रमुखको लागि आन्तरिक चलखेल तीव्र, मोटो रकमसहित विशिष्ट अधिकारी शीर्ष नेतृत्वलाई लोभ्याउन सक्रिय !

काठमाण्डौ । प्रदेश प्रमुख तोक्न नसकेको भन्दै सरकारको तिव्र आलोचना भइरहेका बेला काँग्रेसभित्र गुटउपगुट मौलाउन थालेको छ । पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न काँग्रेसभित्रै लबिङ भइरहेको खबर बाहिरिएको छ । कटवालका लागि आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेको समाचार प्राप्त भएको छ ।

पौडेल पक्षका केही नेताले भने कटवालका विषयमा असन्तुष्टी जनाएका छन् । काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले अधिकारकर्मी अनुराधा कोइरालाका लागि लबिङ गरिरहेको काँग्रेस स्रोतको दाबी छ । माइती नेपालकी अध्यक्षसमेत रहेकी श्रीमती कोइराला मंसिर १० र २१ को प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन अगाडि काँग्रेस प्रवेश गरेकी थिइन् । पूर्वप्रधानसेनापति कटुवाल तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग नजिकको सम्बन्ध भएको भए पनि नेपाली काँग्रेसको सदस्य भने होइनन् ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नातेदार उमाकान्त झालाई प्रदेश प्रमुख बनाउन प्रस्ताव गरेका छन् । झा पूर्वसचिव तथा खिलराज रेग्मी सरकारका मन्त्री हुन् । झाको नाममा प्रधानमन्त्री देउवा पनि सहमत भएको स्रोतको भनाइ छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पूर्वसचिव रत्नेश्वरलाल कायस्थलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन दबाब दिएको बुझिएको छ । प्रदेश प्रमुखका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल र पुष्कर बज्राचार्य पनि चर्चामा छन् । यसअघि प्रमुखका लागि चर्चामा रहेका त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा र पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम पनि चर्चामा छ ।

निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्ने ढिला गरे माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचन गर्न नसकिने चेतावनी सरकारलाई दिइरहेको छ । माघ ७ गतेसम्म सरकारले प्रदेश प्रमुख तोक्न नसके राष्ट्रिय सभाको चुनाव तोकिएको समयमा गर्न असम्भव रहेको केही एमाले नेताहरुले बताउँदै आएका छन् । सरकार भने राजनीतिक दलहरुले सहमति नदिएका कारण प्रदेश प्रमुख तोक्न ढिलाई भइरहेको बताउँदै आएको छ ।

यता नेकपा एमालेले देउवा सरकार आफ्नो सत्ता लब्याउन चाहेको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्रीको लागि तयारी अवस्थामा रहेको एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएर सरकार चलाउने हतारोमा रहेको देखिन्छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता लम्ब्याएर सरकारमा बसिरहेको आरोप लगाउँदै आएका छन् । संम्भवत सरकारले आजै प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवा प्रदेश प्रमुख तोक्ने विषयमा राजनीतिक दलहरुसँग छलफलमा व्यस्त छन् । राजनीतिक सहमति गरेर आजै मन्त्रिपरिषद्को बैठक बोलाएर प्रदेश प्रमुख तोक्ने सरकारको भनाई छ ।

निर्वाचन अयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले घुमाउरो भाषामा प्रदेश प्रमुख तोक्न सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री देउवा प्रदेश प्रमुख तोक्नका लागि बाध्य भएका छन् । प्रतिपक्षी दल नेकपा एमालेसमेत आयोगको विरोध जनाए पनि संवैधानिक व्यवस्थाअनुसार सरकारले तोक्ने प्रदेश प्रमुखमा मौन सहमति जनाउने देखिन्छ ।

संघियतापछि सात वटा प्रदेशमा बाँडिएको मुलुकको लागि सात जना प्रदेश प्रमुखको नियुक्ती गर्ने सरकारलाई संवैधानिक अधिकार छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शे।रबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका उच्चस्तरीय नेताहरु आफ्नो अनुकूलको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने लबिङमा सक्रिय भएका छन् । भने प्रदेश प्रमुख हुनेको अकांक्षा बोकेका पूर्वमुख्यसचिव, पूर्वप्रहरी प्रमुख, पूर्वप्रधानसेनापति पूर्वसचिव, पूर्वमन्त्री, पूर्वराजदूत जस्ता विशिष्ट व्यक्तिहरु उच्च राजनीतिक व्यक्तित्वसँग आफूलाई प्रदेशप्रमुख बनाउन मोटो रकमसहितका ब्रिफकेससमेत बोकेर धाएका समाचारहरु आइरहेका छन् । यानिकी प्रधानमन्त्री देउवाले राजनीतिक दल भन्दा बाहिरका विज्ञलाई प्रदशे प्रमुख नियुक्त गर्ने बताएका छन् । प्रदेश प्रंमुखको साथसाथै सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मेवारीसमेत छ ।