पु.समाचार

एक महिनाभित्र वामपन्थी सरकार : झलनाथ खनाल

लमजुङ, माघ २ । एक महिनाभित्र नयाँ सरकार गठन हुने नेकपा एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।

लमजुङको बेंसीसहरमा सोमबार घले जातिद्वारा आयोजित लिःल (घले) ल्होसारको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एक महिनाभित्र वामपन्थी सरकार गठन हुने बताएको हो । उनले फागुन पहिलो साता र बढीमा दोस्रो सातासम्म वाम गठबन्धनको सरकार बन्ने दावी गरे।

सरकार गठनमा ढिलाई भएको तर, त्यो प्राविधिक विषयमा बोल्नु आवश्यक नरहेको भन्दै उनले एमाले र माओवादी केन्द्रबीच एकता पछि मात्रै सरकार बन्ने संकेत गरे । उनले भने, ‘हामी पार्टी एकता गर्छौं । अनि नयाँ सरकार गठन हुन्छ ।’

वाम शक्तिको एकीकरणको सम्बन्धमा शंका नगर्न आग्रह गर्दै उनले संयुक्त पार्टीकै सरकारले मुलुकलाई अघि बढाउने बताए । अब बन्ने सरकारले असमान सन्धी सम्झौता खारेज गरेर अघि बढ्नुपर्ने भन्दै उनले देशको सिमानालाई एकीन गरी राष्ट्रियतालाई थप मझबुत बनाउनुपर्नेमा जोड दिए ।

आगामी सरकारले लोकतान्त्रिक गणतन्त्रको संस्थागत, असमान सन्धी सम्झौता खारेज, आर्थिक सम्मृद्धि, सन्तुलित अन्तार्राष्ट्रिय सम्बन्ध लगायतका ५ वटा कार्यभार पूरा गर्नुपर्ने उनकाे तर्क थियो ।

लिःल फङ (घले समाज) केन्द्रीय समितिको आयोजना र जिल्ला समितिको ब्यवस्थापनमा आयोजित कार्यक्रममा प्रदेश सभा (ख) सदस्य धनन्जय दवाडी, निवर्तमान सांसद जमीन्द्रमान घले, घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घले, महासचिव डा.जीतबहादुर घले, अन्तराष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष नरबहादुर घले, जिल्ला अध्यक्ष विरसिंह घले, कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, माओवादी केन्द्रका हरिजंग तामाङ लगायतले सांस्कृतिक पर्वले हरेक जातजातिलाई एक शुत्रमा बाँध्न मद्दत पुगेको बताएका थिए ।

पत्रपत्रिकाबाट