पु.समाचार

सिरोहियाले सञ्चार माध्यमको आडमा मलाई ब्ल्याकमेलिङ गरेः अजय सुमार्गी

काठमाण्डौ । विवादस्पद व्यवसायी अजय सुमार्गीले व्यवसाय गर्नका लागि कान्तिपुरलाई नजरना चढाउनु पर्ने स्थिति रहेको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले नेपालको सबैभन्दा ठूलो सञ्चार गृहका मालिक कैलाश सिरोहियाले सञ्चार माध्यमको आडमा आफूसँग ब्ल्याकमेलिङ गरेको आरोप लगाए ।

मुक्तिश्री सिमेन्ट प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले भने, ‘सञ्चार माध्यम प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले मसँग ब्ल्याकमेलिङ गरेका छन्। यो सञ्चार माध्यमको दुरुपयोग हो ।’

ब्ल्याकमेलिङ प्रक्रियामा मिडिया सोसाइटी समेत प्रयोग भएको भन्दै उनले आपत्ति जनाए । ‘यो ब्ल्याकमेलिङ प्रकरणलाई गम्भीरताका साथ लिन म आग्रह गर्दछु,’ उनले भने ।

स्रोत नखुलेको अर्बौं रुपैयाँ सुमार्गीले ट्याक्स हेभेन मुलुकबाट नेपाल भित्र्याएको बारे कान्तिपुरले समाचार प्रकाशित गरेको सन्दर्भमा सुमार्गीले पत्रकार सम्मेलन गर्दै त्यसको खण्डन गरेका हुन् ।

कान्तिपुर समूहका अध्यक्ष सिरोहियाले आफूमाथि सांघातिक हमलाको धम्की दिएको भन्दै सुमार्गीले पुस ११ गते सुरक्षा माग गर्दै काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । सिरोहियाबाट खरिद गरेको तीनकुने स्थित ५ रोपनी ४ आना जग्गा एक वर्षपछि सिरोहियाले पुरानै मूल्यमा फिर्ता मागिरहेको गम्भीर आरोप सुमार्गीले लगाएका थिए ।

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले सुमार्गीले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिँदै आएका छन् ।