कृषि

धनकुटामा वार्षिक २९ करोडको दूध उत्पादन

धनकुटा । जिल्लामा यसवर्ष अहिलेसम्म २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ ।

किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक उल्लेख छ ।

जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक रु १६ लाख ६५ हजार बराबरको ३७ मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि अम्रिसो, नेवारो, टाँकी, पट्मेरो, दुधिलोलगायत उन्नत जातका घाँस रोपेर व्यावसायिकरुपमा उन्नत जातका गाई र भैँसी पालेका कारण दूधबाट पर्याप्त आम्दानी हुन थालेको महालक्ष्मी नगरपालिका–४ का चेतन कार्कीले बताए ।

उनले दूध बिक्री गरेर वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्दैआएका छन् । जिल्लाका किसानले गतवर्ष प्रतिलिटर रु ४० मा बिक्री गरेको दूधको मूल्य यस वर्ष प्रतिलिटर रु पाँचले वृद्धि गरेका छन् ।

कूल उत्पादनको ४० प्रतिशत दूध जिल्लामा खपत हुन्छ । बाँकी दूध अन्य जिल्लामा बिक्रीका लागि पठाउने गरिएको छ । जिल्लामा २३ वटा व्यावसायिक गाईपालन केन्द्र र घरघरमा पालेका गाईभैँसीबाट मासिक एक लाख लिटरभन्दा बढी दूध उत्पादन हुने गरको छ ।

जिल्लाका धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका दुग्ध उत्पादन पकेट क्षेत्रका रुपमा रहेका छन् । यता जिल्लाका चिस्यान केन्द्रमा छिमेकी जिल्ला तेह्रथुमका केही गाउँपालिकाबाट समेत दूध संकलन हुने गरेको छ । जिल्लाका चिस्यान केन्द्रमा संकलन भएको दूध सुनसरीको कामधेनु दुग्ध संकलन संस्था तरहरा र दुग्ध विकास संस्थान विराटनगर पठाइने गरेको चिस्यान केन्द्रले जनाएको छ ।