पु.समाचार

राष्ट्रियसभा निर्वाचनका लागि दस्तखत माग्दै आयोगले दियो तीन दिनको समय

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न दलहरुलाई माघ ३ गतेसम्मको समय दिएको छ ।

मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले अख्तियारी दिएको व्यक्ति निर्वाचन आयोगमा अद्यावधिक गरिएको दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी आयोगको सूचनमा उल्लेख छ ।

त्यस्तै निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने बताएको छ ।

आयोगका अनुसार दस्तखत नमूना फारम वेबसाइट र आयोगबाट लिन सकिने छ । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ । राष्ट्रियसभा निर्वाचनमा भाग लिन २१ दल निर्वाचन आयोमा दर्ता भएका छन् ।