मनोरञ्जन

अध्ययनले भन्योः साइकल चढ्दैमा पुरुषको यौन स्वास्थ्य बिग्रिदैन

बीबीसी । साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्य वा मूत्र प्रणालीमा कुनै नकारात्मक असर नपर्ने एक अध्ययनले पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरूले साइकल चढ्ने पुरुषहरूको दौड र पौडी खेल्ने पुरुषहरूसँग तुलना गर्दा सबैको यौन र मुत्र स्वास्थ्य उस्तै उस्तै पाएका थिए । यसअघि गरिएका अध्ययनहरूले भने साइकल चढ्नाले पुरुषहरूको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने निष्कर्ष निकालेको अध्ययनकर्ताहरूले बताएका छन् । उनीहरू भन्छन् साइकल चढ्नुको जोखिमभन्दा फाइदा धेरै गुणा बढी छ ।

निचोड

पछिल्लो अध्ययन युके, अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका २,७७४ साइकल चढ्ने पुरुषहरूमा गरिएको थियो । उनीहरूसँगै ५३९ पौडी खेलाडी र ७८९ धावक सहभागी थिए । उनीहरूलाई यौन स्वास्थ्य र मूत्र प्रणालीबारे विभिन्न प्रश्नहरु सोधिएको थियो । तीनै समूहका पुरुषको यौन स्वास्थ्य र मुत्र प्रणाली तुलनायोग्य पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तथापि केही साइकल चढ्ने पुरुषहरूमा चाहिँ मूत्र नली खुम्चिन सक्ने जोखिम पाइएको थियो । त्यो अध्ययन अनुसार जोखिमको हिसाबले रमाइलोको लागि साइकल चढ्ने र दैनिक धेरै समय साइकल चढ्ने पुरुषहरूबीच उल्लेखनीय फरक पाइएन । दुई वर्षभन्दा लामो समयदेखि साइकल चढ्ने पुरुष, प्रतिदिन २५ माइलका दरले हप्तामा तीन दिन साइकल चढ्ने पुरुष र कहिलेकाहीं मात्र साइकल चढ्ने पुरुषमा गरिएको अध्ययनपछि पछिल्लो निष्कर्ष निकालिएको हो ।

फाइदा

पछिल्लो अध्ययनको निष्कर्ष साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ भन्ने यस अघिका अध्ययनको निचोडसँग मेल नखाने नयाँ अध्ययनका लेखकहरूले जनाएका छन् । उनीहरूले पुराना अध्ययनहरू स–साना समूहमा गरिएको र तीनले समूहगत तुलना नगरेको बताएका छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाको युरोलोजी विभागका प्रमुख अन्सन्धानकर्ता बेन्जमिन ब्रेयर भन्छन्, ‘साइकल चढ्नाले मुटुको स्वास्थ्यलाई निकै धेरै फाइदा पुग्ने गर्छ ।

त्यसले हाड जोर्नीमा निकै कम असर पार्छ । सुरक्षित तरिकाले साइकल चलाउनेलाई जोखिमभन्दा धेरै गुणा बढी फाइदा पुग्ने गर्छ ।’ लामो समयसम्म साइकल चलाउनेहरूले जननेन्द्रिय अंग वरपर केही अप्ठ्यारो महसुस गर्न सक्छन् । तर २० प्रतिशतभन्दा बढी समय उठेर साइकल चलाउनेहरूमा त्यस्तो समस्या निकै कम पाइएको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले भविष्यमा त्यसबारे थप अध्ययन गर्ने बताएका छन् ।