पु.समाचार

अपांगता भएकालाई सिलिपिङ ब्याग वितरण

राजविराज । सप्तरीसहित पूर्वी तराईमा करिब दुई सातायता बढेको शीतलहर र जाडोका कारण प्रभावित भएको भन्दै स्थानीय प्रशासनले आइतबार अपांगता भएकालाई राहत वितरण गरेको छ ।

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्लाको विभिन्न ठाउँबाट आएको ११५ जना अपांगता भएका व्यक्तिलाई एक सेटका दरले सिलिपिङ ब्याग वितरण गरेको प्रशासकीय अधिकृत रोहित भट्टराईले जानकारी दिए ।

जसमध्ये १०५ जना अपांग र १० जना दृष्टिविहीनलाई सो सिलिपिङ ब्याग प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र प्रशासकीय अधिकृत भट्टराईले वितरण गरे ।

यस्तै मधेशी अपांग कल्याण संघको समन्वयमा धर्मी हल्फा महिला विकास क्लब लालापट्टिले समेत जिल्लाका ५० जना अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र क्लबका अध्यक्ष इञ्जिनियर सूर्यनारायण यादवले संयुक्तरुपमा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरे ।

संस्थाद्वारा यसअघि चिसोले पीडित एक दर्जन गाउँका गरिब एवं विपन्न समुदायलाई कम्बल वितरण गरिसकिएको क्लबका अध्यक्ष यादवले जानकारी दिए ।