तस्विरहरु

सहारा मरुभूमिमा हिमपात भएपछि जे–देखियो (फोटोफिचर)

काठमाण्डौ । विश्वभर जाडोको सिजन चलिरहेका बेला मरुभूमिसमेत यसबाट जोगिन सकेको छैन । विश्वकै सबैभन्दा तातो मरुभूमि सहारामा बाक्लो हिमपात भएको छ । सहाराको प्रवेशद्वार मानिने उत्तरी अल्जेरियाको ऐन सफेरामा रातो माटो सेतो हिउँले ढाकिएको छ । यहाँको एउटा बस्तीमा गत आइतवार १६ इन्चसम्म हिउँ थुप्रिएको छ ।

समाचार अनुसार सहारा मरुभूमिको प्रवेशद्वार अल्जेरियाको ऐन सेफरा नगर (जसलाई विश्वकै तातो स्थान पनि भनिन्छ) क्षेत्रमा बाक्लो हिमपात भएपछि त्यहाँका बालबालिकादेखि युवायुवतीसम्म हिउँ खेल्न झुम्मिएका थिए ।

४० वर्षमा तेस्रो पटक

उत्तरी अल्जेरियाको ऐन सेफरामा ४० वर्षमा तेस्रो पटक यस्तो दृश्य देखिएको हो । करिब ३८ वर्षअघि फेब्रुअरी १९७९ मा यहाँ केही घन्टासम्म हिमपात भएको थियो । गत वर्ष डिसेम्बरमा पनि यहाँ हल्का हिमपात भएको थियो । तर, यो साता भने पुरै दिनभरी हिउँ परेको हो ।

४८ डिग्रीसम्म तापक्रम

एलटल पहाडले घेरिएको अल्जेरियाको यो इलाका समुद्री सतहदेखि करिब १००० मिटर माथि छ । गर्मीमा यहाँको तापक्रम ४८ डिग्री सेल्‍सियससम्म जान्छ । जबकि जाडो यहाँको तापक्रम माइनस १० डिग्रीसम्म झर्ने गरेको रेकर्ड छ ।

मौसममा भइरहेको तीब्र बदलावलाई अनुमान गर्दै वैज्ञानिकहरुले अघिल्ला १५ हजार वर्षमा सहारा मरुभूमिम फेरि हराभरा हुने बताएको तथ्य पुष्टि हुने अवस्था यो हिमपातबाट आएको दाबी गरिएको छ ।

जाडोयामका कारण अमेरिकाको न्यूयोर्क र शिकागो समेत कयौँ सहरलाई हिउँले छोपेको छ । अर्कातिर चीनमा जमीनदेखि लिएर घरको छानासम्म पुरै हिउँले कब्जा जमाएको छ ।

तर यही बेला अस्ट्रेलियाको जंगलमा आगो सल्किएको छ । त्यहाँ भीषण गर्मी (करिब ४६ डिग्री) छ । उता अमेरिकाका नदी र तालको पानी हिउँमा परिणत भएका छन् । चीनमा जाडोसँगै सडकमा निस्कन सक्ने अवस्था छैन भने अस्ट्रेलियाको सिड्नीमा भीषण गर्मीले सडकसम्म पगाल्ने अवस्था देखिँदैछ ।