आर्थिक

भिसासँग आवद्ध बैंकहरुको भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म नगद फिर्ता योजना

काठमाण्डौ । कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान-सुविधाखरिद गर्दा भिसा डेविट वाक्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वाखरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको छ ।नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट-क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेक्ष प्रकारको योजना सार्बजनिक गरिएको छ ।

कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागी हुन न्यूनतम पाँच सयको कारोवार ग्राहकहरुले गर्नु पर्ने छ ।

१ देखि ३ पटक सम्मको कारोबारमा दुई प्रतिशत वा अधिकतम १ सय रुपैयाँ, ४ देखि १५ पटकसम्मको कारोबारमा ५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँ, १६ देखि ३० पटकसम्मको कारोबारमा ७ प्रतिशत वा अभिकतम ५ सय रुपैयाँ, ३१ द्येखि ५० पटकसम्मको कारोबारमा १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँ नगद फिर्ता हुने बैंकले जनाएको छ ।

यस योजनाबाट सेन्चुरी बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक,महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।

साथै यस किसिमको योजनाबाट ग्राहक बर्गहरु थप लाभान्वितहुने र कारोवार पनि सुरक्षित हुनेमा बैंकहरु विस्वस्त छन् ।