प्रवास

एनआरएनका अध्यक्ष भवन भट्टले किने नेपाल एयरलाइन्सको विमान

काठमाण्डौ । गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टले नेपाल एयरलाइन्सको विमान खरिद गरेका छन् । १४ करोड ६० लाखमा अध्यक्ष भट्टले निगमको बोइङ–७५७–२०० किनेका हुन् ।

एनआरएनको चुनावको पूर्व सन्ध्यामा डेढ करोड रुपैयाँ बैना गरेका उनले लामो समय पछि बाँकी रकम तिरेका हुन् । पटक पटक ताकेता गर्दासमेत बाँकी रकम बुझाउन नआएपछि निगमले ४५ दिनको सूचना निकालेर उक्त अवधीमा पनि अनाए बैना रकम जफत गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो ।

निगमले दिएको अन्तिम समयको अघिल्लो दिन बुधबार भट्टको एयरवेज कम्पनी बीबी एयरवेजले बाँकी पैसा तिरेको हो ।बोइङ–७५७–२०० मर्मत गरेर चलाउँदा फाइदा हुने नदेखिएपछि निगमले कवाडीको भाउमा बेचेको हो ।

८६ हजार ४१० घण्टा उडान भरिसकेको जहाज दुई वर्षदेखि ग्राउन्डेड छ । निगमले तीन दशक अगाडि १ अर्ब ३० करोड रुपैयाँमा उक्त जहाज खरिद गरेको थियो । निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ को नेपाली नाम ‘कर्णाली’ हो ।

३० वर्ष भन्दा पुराना विमान राखेर अन्य वायु कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै निगम अहिले नयाँ विमान खरिदमा जुटेको छ ।