राजनीति

नेविसंघले आफ्नै अध्यक्षलाई स्पष्टीकरण सोध्यो, महरले दिए कडा चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले महाधिवेशन नजिकिँदै गर्दा आफ्नै अध्यक्षसँग स्पष्टीकरण सोधेको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरलाई नेविसंघ अनुशासन समितिका संयोजक एवं सहमहामन्त्री राजेश रौनियारले तीन दिने अल्टिमेटम दिएर पत्र काटेका हुन् ।

निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको रौनियारले जनाएका छन् ।

उदयपुरमा निर्वाचन प्रचारका क्रममा घाइते भएकी मीरा कटुवाललाई केन्द्रीय सदस्य दिएको बारेमा पनि समितिले स्पष्टीकरण सोधेको छ ।
पत्र काटेको तेस्रो दिनसम्म पनि महरले स्पष्टीकरण दिएका छैनन् ।
यस्तो अवस्थामा अनुशासन समितिको बैठक बसेर समितिले कारबाही सिफारिस गर्न सकिने नेविसंघका महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए ।

काफ्लेले भने, ‘अध्यक्षलाई अनुशासन समितिले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण नआएमा तत्काल अनुशासन समितिको बैठक बसेर कारबाहीको प्रक्रिया सुरु गरिनेछ ।’

यता अध्यक्ष महरले भने अराजकहरुको झुन्डाले नक्कली लेटरप्याड प्रयोग गरी स्पष्टीकरण सोधेको बताए । उनले भने, ‘उनीहरुमाथि सीधै कारबाही हुन्छ, अनुशासनहीनहरुले सोधेको कुरामा केको स्पष्टीकरण ?’

सहमहामन्त्री रौनियारसहित ४ जनालाई दुई वर्षका लागि नेविसंघबाट निष्कासन गर्ने तयारी रहेको महरले बताए ।

अनुशासन समिति नै अवैध भएको उल्लेख गर्दै उनले भने, ‘अनुशासन समितिकी संयोजक अम्बिका चलाउने हुन्, रौनियार कताबाट आइपुग्यो । संगठनलाई थाहा छैन।’