राजनीति

प्रधानमन्त्री हुने अगाडि आउनु्स्, म तत्काल सत्ता छोड्दिन्छुः प्रधानमन्त्री देउवा

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदनै गठन नभएको अवस्थामा सत्ता हस्तान्तरणको कुरा गर्नु हस्याँस्पद भएको बताएका छन् ।

आइतबार कैलालीको गोदावारीमा बाह्र राशि मकर मेलाको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचनमा कुनै पनि दलको बहुमत नआएको दाबी गरे ।

नेकपा एमालेका नेताहरुतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कानुनी प्रक्रिया, संविधानको दायरा नबुझिकन सत्ता हस्तान्तरणको राग अलापेर मात्रै हुँदैन ।’ उनले कानुनी हिसाबले आफूले अहिल्यै सत्ता हस्तान्तरण गर्न नमिल्ने जिकिर गरे । आफू सरकारमा बसिरहन नचाहेको भन्दै प्रक्रिया पूरा गरेरमात्रै सरकारबाट बाहिरिने बताए ।

‘म सरकारमा बसिरहन चाहन्न’, उनले भने, ‘प्रधानमन्त्री हुने को हो ? कानुनी हिसाबले अगाडि आउनु्स्, म तत्काल सत्ता छोड्दिन्छु ।’

उनले राष्ट्रिय सभाको निर्वाचन नै नभई नयाँ सरकारको कुरा गर्नु कानुन र संविधानविपरित भएको समेत दावी गरे ।

प्रधानमन्त्री देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र मुकाम तोक्ने बताएका छन् । उनले सहमतिको प्रयास गर्दा प्रदेशप्रमुख र मुकायम तोक्न ढिलाई भएको भन्दै सहमति नभए पनि तीन दिनभित्र तोकिसक्ने जानकारी दिए ।

उनले सरकार सहमतिमै प्रमुख र मुकाम तोक्ने योजनामा रहेको बताए । ‘सरकार सहमतिमै प्रदेश प्रमुख र मुकाम तोक्न चाहन्छ’, उनले भने, ‘सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने छ ।’