राजनीति

अब नेपाल–भारतबीचमा खुल्ला सिमाना हुँदैनः नेता भट्टराई

काठमाण्डौ । नेकपा एमालेका नेता डा राजन भट्टराईले नेपाल–भारतबीच अब खुल्ला सिमा नहुने बताएका छन् ।

नेपाल–भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य समेत रहेका भट्टराईले सिमा क्षेत्रमा भारतले आफ्नो पक्षबाट कडाइ गरेको भन्दै अब नेपाले सिमा व्यवस्थित गर्नेबारे सोच्नुपर्ने बताएका छन् ।

‘भारतले अहिले पनि आफ्नो क्षेत्रमा सिमा सुरक्षाका लागि क्याम्प राखेर कडाई गरिरहेको छ’, भट्टराईले भने, ‘यसलाई खुल्ला सिमा भन्न मिल्दैन, नेपालतिर मात्रै खुल्ला छ । सिमा क्षेत्रका जनताको आवतजावतलाई असर नपर्ने गरी व्यवस्थित गर्नुपर्छ ।’

ईपीजीको छैठौं बैठक पुस २७ र २८ गते नयाँ दिल्लीमा सम्पन्न भएको थियो । उनले बैठकमा पनि यसबारे कुरा उठेको तर यसरी नै जानुपर्छ भन्ने निष्कर्षमा पुगिनसकिएको बताए ।

साथै भट्टाईले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन या प्रतिस्थापन गर्ने बारे छलफल चलिरहेको भन्दै सन्धि यथावत भने नरहने पक्का भएको दाबी गरे ।

ईपीजीका अहिलेसम्म भएका बैठकमा यसबारे सौहार्दपूर्ण रुपमा छलफल भएको भन्दै उनले दुबै पक्षको सहमतिमै प्रतिवेदन तयार हुने बताए । ‘बैठकमा दुवै पक्षबीच सौहार्दपूर्ण रुपमा छलफल भयो,’ उनले भने, ‘सहमतिमै यँही जुलाइसम्म प्रतिवेदन तयार पारिसक्छौं ।’
कुन सन्धिलाई परिमार्जन गर्ने भन्ने टुंगोमा नपुगेकाले छलफल चलिरहेको बताए ।