राजनीति

पार्टीको नेतृत्व युवालाई दिँदैमा काँग्रेस सुध्रिदैँनः प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व युवालाई दिँदैमा काँग्रेस नसुध्रिने धारणा राखेका छन् । एक कार्यक्रममा उनले राजनीतिमा एज नभएर एजेन्डालाई मुख्य आधार मानिने बताएका छन् ।

‘पार्टी निर्वाचनमा पराजित भएर फर्केपछि कतिपयलाई यस्तो लागेको छ कि वृद्ध नेतृत्वलाई बिदा गर्नुपर्छ । तर मेरो बुझाइमा राजनीतिमा एज होइन कि एजेन्डालाई प्रधान मान्नुपर्छ । त्यसैले काँग्रेस एज होइन कि एजेन्डाले चल्छ ।  सेतो कपालले केही पनि गर्न सक्दैन भन्ने होइन र कालो कपालले मात्रै सबै राम्रो गर्छ भन्ने बुझ्नु गलत हुन्छ’, उनले भनेका छन्, ‘ ०४६ सालमा गणेशमानजीले पार्टी र जनआन्दोलनलाई नेतृत्व दिइराख्दा उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । बीपी स्वयं पनि जनमत संग्रहका बेला भन्डै ७० वर्षको हुनुहुन्थ्यो । गान्धीकै कुरा गर्नुहुन्छ भन्ने उमेरको उत्तराद्र्वमा धेरै महत्वपूर्ण काम गरेको देखिन्छ । तर, यसको अर्थ यो पनि होइन कि युवाहरूलाई दिनु नै हुँदैन । पाका र युवा सबै विचारमा एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन । नेपालको उदाहरण दिँदा ८६ वर्षका गिरिजाप्रसादले ५६ वर्षका प्रचण्डलाई डोर्याएको पनि देखियो । अमेरिकामा ४६ वर्षका बाराक ओबामाले वृद्ध जोन म्याकेनलाई पराजय गरेको देखियो । उमेरमा पाको भए पनि नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध आन्दोलनको नेतृत्व गरेर सफलतामा पुर्याए । त्यसकारण युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिन्छ भन्ने होइन । कांग्रेस आवेगमुक्त भएर सबै मिलेर अगाडि बढ्नुपर्छ ।’

साथै उनले ,नेपाली काँग्रेस नभएको भए मुलुक अनिर्णयका बन्दी बन्ने धारणा राखे । गिरिजा नभएको भए माअ‍ोवादी शान्तिप्रक्रियामा नआउने ठोकुवा गर्दे उनले संविधान जारी गर्न काँग्रेसका साथले मात्र संम्भव भएको दाबी गरे ।

‘काँग्रेसले अब ००७ र ०४६ को कुरा गरेर हुँदैन । हामीसँग गौरवपूर्ण इतिहास मात्रै छैन कि सफल वर्तमान पनि छ । तर हामीले वर्तमानमा गरेका कामको सम्प्रेषण गर्न सकेनौं । शान्ति प्रक्रियादेखि संविधान बनाउनेसम्मको नेतृत्व हामीले गरेकै हौं । के गिरिजाप्रसाद नभएका भए शान्तिप्रक्रियामा माओवादी आउँथ्यो होला ? पहिलो संविधानसभाका निर्वाचनहरूपछि चारचारवटा कम्युनिस्ट प्रधानमन्त्री त भएकै हुन् । तर, संविधान त जारी हुन सकेन नि । हाम्रै पार्टीका सुशील कोइराला प्रधानमन्त्री हुँदा नै संविधान पनि जारी भयो। सबैलाई थाहा भएकै कुरा हो, संविधान जारी गर्ने बेलामा कत्रो दबाब थियो बाहिर र भित्रैबाट पनि। सबैलाई सहेर उहाँले संविधान जारी गर्नुभयो’, उनले भने, ‘संविधान जारी भइरहँदा एकथरीले मैनबत्ती बालेर दीपावली मनाए भने एकथरीले टायर जलाएर विरोध गरे । हामीले मैनबत्ती बाल्ने र टायर जलाउने दुवै नेपाली हुन् भनेर भन्यौं। जति यो देश टोपी लगाउनेहरूको हो, त्यति नै धोती लगाउनेहरूको हो भन्यौं। कांग्रेसले भन्यो, काठमाण्डौको नयाँबानेश्वर र जलेश्वरको दूरी घट्नुपर्छ। तर, सम्प्रेषण गर्ने बेलामा नागरिक तहमा यसलाई पुर्याउन सकेनौं । मधेसमा स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको थियो । सारमा हामीले पछिल्ला २५ वर्षमा गरेका काम र सफलताको जस लिन सकेनौं । यी विषयलाई हामीले जनताका माझमा राम्रोसँग पुर्याउन सकेनौं ।’

साथै शर्माले पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेका छन् । पार्टीको विधानअनुसार चल्ल्नुपर्ने भन्दै उनले काँग्रेस महासमितितिर अग्रसर हुनुपर्ने धारणा राखे ।

‘प्रवक्ता हुनुअघि मैले भन्दै आएको थिएँ, विशेष महाधिवेशन अहिलेको समाधान होइन । विशेष महाधिवेशले विशेष उद्देश्यका साथ पार्टीको नेतृत्व परिवर्तनको बाटोमा जानुपर्छ । त्यो भीडमा गम्भीर समीक्षा हुँदैन भन्ने बुझाइ हो । तर अहिले म तपाईंसँग बोलिरहँदा पार्टी प्रवक्ता हुँ । त्यसकारण पार्टी विधानमा व्यवस्था भएअनुसार पार्टी अघि बढ्यो भने त्यो हुन पनि सक्छ । तर मसहित सातजना काँग्रेसका युवा साथीहरूले बैठकमा केन्द्रीय कार्यसमिति बैठक र महासमिति बैठकको कुरा गरेका थियौं’, उनले भने, ‘प्रवक्ता भएपछि विशेष महाधिवेशन गर्नैपर्दैन म भन्न सक्तिनँ । किनकि, हाम्रो विधानमा महाधिवेशन बोलाउन मिल्ने प्रावधान छ । विधानअनुरूप महाधिवेशन बोलाउन सकिन्छ । तर, अहिले केन्द्रीय समितिको बैठक हुँदै महासमितितिर अग्रसर हुनुपर्छ काँग्रेस ।’

अर्को प्रसंगमा उनले काँग्रेस प्रक्रिया पुर्याएर सरकार छोड्न आतुर रहेको बताए । एमाले अध्यक्ष ओलीले देउवाले राजीनामा गरेर गएको भए पनि जिम्मेवारीबाट पन्छिएको आरोप लगाउने दाबी गरे ।

‘सत्ता हस्तान्तरणका कुरामा केहीले काँग्रेसलाई आक्षेप लगाइरहेका छन् । चुनाव हारिँदैछ भन्ने जान्दाजान्दै चुनाव गराउन अग्रसर पार्टीलाई सत्ता हस्तान्तरणमा ढिलाइ गरेको आरोप लगाउनु कसरी उचित हुन्छ ? देउवाले राजीनामा गरेर गएको भए पनि कमरेड केपी ओलीजीले जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुहुन्थ्यो । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने भनेको राजीनामा गर्ने मात्र होइन । कामचलाउ प्रधानमन्त्रीले राजीनामा गरेर डबल कामचलाउ बन्नुपर्दैन । अबका जटिलता पार गराउनु नै मार्गप्रशस्त गराउनु हो,’ उनले भने, ‘यो व्यावहारिक जटिलता आउनुका कारण प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैचोटि भएर हो । संविधान राम्रोसँग पढ्नेलाई यो थाहा हुन्छ । राष्ट्रियसभाको निर्वाचन कांग्रेस वा शेरबहादुर देउवाका कारण रोकिएको छैन । आउँदै गरेका सरकारको नेतृत्व गर्ने नेता र दलले संविधान राम्रोसँग पढ्नुपर्छ । राष्ट्रियसभाको निर्वाचन भएको दुई हप्ताजतिमा हार्दिकतापूर्वक सत्ता हस्तान्तरण हुन्छ । काँग्रेसले सत्ता हस्तान्तरण लम्ब्याइरहँदैन ।’