पु.समाचार

इलाममा अध्यागमन कार्यालयखोल्ने भारतीय राजदूत पुरीको दाबी

इलाम । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन्।

शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनुभएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईलगायतका जनप्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाए।

“हामी दुई देशको सीमा क्षेत्रको भौतिक संरचनाको विषयमा हेर्दैछौँ, दुवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने प्रयत्न गर्छु”– राजदूत पुरीले भने ।

झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम आउनुभएका राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरे । जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।