पर्यटन/संस्कृति

पटिहानीमा पर्यटकका लागि जिप सफारी शुरु

रत्ननगर । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु भएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी शुरु भएको हो ।

नेपाल सरकारको पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य पूरा गर्नका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत दोस्रो सफारीको रुपमा पटिहानीमा जिप सफारी शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

कँडेलले नै शुक्रबार जिप सफारीको उद्घाटन गरेका थिए । उनले अब सौराहासँग पनि पश्चिम चितवन जोडिएको बताए । पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल वाक गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो ।

जिप सफारी शुरु भए पनि स्थानीय खुशी भएको पटिहानीका स्थानीय संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए । सानो जिपको रु ७०० र ठूलोको रु ८०० प्रवेश शुल्क तोकिएको छ ।

राप्ती नदीको किनार क्षेत्र हुँदै जाने भएपछि पर्यटकले यो क्षेत्रमा गैँडा, बाघ, भालु, हात्ती, चित्तल, विभिन्न प्रजातिका चरा तथा वन्यजन्तुको सहज अवलोकन गर्नसक्ने भएका छन् । यसअघि चितवनको कुमरोजमा गएको वर्षबाट जिप सफारी थालिएको थियो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अकिृत कँडेलका अनुसार निकट भविष्यमै पूर्वी चितवनको खगेन्द्रमल्ली वन क्षेत्रमा पनि पर्यटकका लागि जिप सफारी शुरु गर्ने तयारी गरिएको छ ।

निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपरासीको अमल्टारीमा समेत जिप सफारी हुँदै आएको छ । चितवन निकुञ्जमा भने सौराहादेखि निकुञ्जभित्र जंगलमा दशकौँदेखि जिप सफारी हुने गरेको भए पनि पछिल्ला समयमा मध्यवर्ती क्षेत्रमा समेत जिप सफारी हुने क्रम बढिरहेको छ ।

चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको जिप सफारीले पश्चिम चितवनमा समेत पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । पर्यटन र संरक्षणलाई सँगसँगै लैजाने लक्ष्यसहित यहाँ जिप सफारी थालिएको हो ।