पु.समाचार

दलितले प्रतिष्ठानलाई ८४ हजार वर्गमिटर जग्गा दान गरें

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई यहाँका छजना दलितले करिब ८४ हजार वर्गमिटर जग्गा दान गरेका छन् ।

जुम्ला चन्दननाथ नगरपालिका–३ का मानबिरे सार्कीले २५ हजार ७६७, छुमकली सार्कीले १७ हजार ६४९, दल नेपालीले १४ हजार २२३, जोरे सार्कीले १० हजार ४७, खड्ग सार्कीले आठ हजार ६०७ र काँसीकला सार्कीले सात हजार ५९० गरी जम्मा ८३ हजार ८८३ वर्गमटिर क्षेत्रफलको जग्गादान गरेको प्रतिष्ठान जुम्लाका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

त्यसैगरी, गैरदलिततर्फ सोही वडाकै दया खत्रीले ३४ हजार २८५, नन्दबहादुर खत्रीले ३० हजार, इन्द्र खत्रीले १९ हजार ६०७, देवी सिंहले पाँच हजार, पदम केसीले चार हजार ५०० गरी जम्मा ९३ हजार ३९२ वर्गमिटर क्षेत्रफल जग्गादान गरेको उनले बताए ।
रजिस्ट्रार काफ्लेका अनुसार दलित र गैरदलितको जग्गादानबाट कूल जम्मा एक लाख ७७ हजार २७५ वर्गमिटर क्षेत्रफलको जग्गा प्रतिष्ठान जुम्लाको नाममा नामसारी भएको छ ।

स्थानीय दररेटअनुसार हिसाब गर्दा छजना दलितले मात्रै रु पाँच करोड २० लाख ४९ हजार ८०९ बराबरको जग्गादान गरको छ, रजिस्ट्रार काफ्लेले भन्नुभयो– “दलितहरुले यत्रो बजेटको जग्गादान गरेको घटना सायद नेपालमै पहिलो हो ।”

गैरदलित पाँच जनाबाट भने रु पाँच करोड ७९ लाख ५० हजार १९० बराबरको जग्गा प्राप्त भएको उहाँको भनाइ छ ।

सोही वडाबाट दुई दलित र चारजना गैरदलितबाट फागुनतिर जग्गा प्रतिष्ठानको नाममा गर्ने सम्झौता भएको उहाँले बताउनुभयो । सबै जग्गादाताले नगरपालिकाको ३ नं वडाको च्यारेचौरस्थितको जग्गा उपलब्ध गराएका छन् । जग्गा उपलब्ध भएको च्यारे चौरमा प्रतिष्ठान जुम्लाले एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमका निम्ति भवन निर्माण गर्ने जनाइएको छ ।

यता गुठीचौर–५ धितालगाउँ जुम्लाका स्थायी निवासी हरिश्चन्द्र धितालले पनि रु ४० लाख पर्ने धिताचौरस्थितको १० हजार वर्गमटिर क्षेत्रफलको जग्गा निःशुल्क प्रतिष्ठानको नाममा नामसारी गर्नुभएको प्रतिष्ठानले जनाएको छ । सो क्षेत्रमा १४ जना जग्गादाता रहेका छन् । धिताचौरमा नर्सिङ महाविद्यालय बन्ने जनाइएको छ ।

प्रतिष्ठानका अनुसार च्यारे चौरमा रु २२ करोड र धिताचौरमा रु ११ करोड बराबरको जग्गा समुदायले निःस्वार्थ जग्गादान गर्ने भएका छन् । प्रतिष्ठान जुम्लाले आगामी आर्थिक वर्षमा नेपाल सरकारले शैक्षिक कार्यक्रमका लागि निर्माण हुने भवनको बजेट सुनिश्चितता हुने अपेक्षा गरेको छ ।