खेलकुद

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते

पोखरा । १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने मञ्चद्वारा आज आयोजित पत्रकारसम्मेलनमा मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ । उक्त प्रतियोगितामा प्रथम रु १५ हजार, द्वितीय रु १० हजार र तृतीय रु पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा प्रथम रु १० हजार, द्वितीय रु सात हजार र तृतीय हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् ।

यसरी नै ४०० मिटर ह्विल चियर पुरुष तथा महिलामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार दिइनेछ । यो पटक १०० मिटर दृष्टिविहीन दौड पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु पाँच हजार, रु तीन हजार र दुई हजार पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न रु १७ लाख ३९ हजार खर्च लाग्ने बताइएको छ । प्रतियोगिताका लागि नेपाल एडभेन्चर स्पोट्र्स प्रालि र स्थानीयस्तरमा ट्रेनर नेपालले पनि सहयोग गरेका छन् ।