राजनीति

शीतल निवास र लाजिम्पाटबीच सम्बन्ध गहिरियो, शुक्रबारको भेट राजनीतिक कि पारिवारिक ?

काठमाण्डौ । माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारको शुक्रबार वास्तवमै रमाइलो भएको छ । राष्ट्रिपति विद्या भण्डारीको निम्तो स्वीकार गर्दै दाहालको स-परिवार शीतल निवास पुगेको हो । राजनीतिक रुपमा भण्डारीलाई सहयोग गर्दै आएका दाहालपरिवारलाई रात्रि भोजको व्यवस्था गरिएको थियो ।

अध्यक्ष दाहाल कहिले एमाले र कांग्रेसबीच सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुग्छन् त, कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्छन् । त्यसपछि उनी भेटघाटको सन्देश लिएर राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुग्छन् ।

यसरी राजनीतिक गतिरोध अन्त्यका लागि सहयोगी बनिरहेका दाहाल र राष्ट्रपति भण्डारीबीच अब पारिवारिक सम्बन्धसमेत स्थापित हुन थालेको छ । शुक्रबार दिउँसो एक कार्यक्रमका लागि म्याग्दी पुगेका दाहाल बेलुका काठमाण्डौ फर्कनासाथ परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए ।

राष्ट्रपति निवासमा दाहाल परिवारलाई दिइएको डिनरमा पत्नी सीता दाहाल मात्र थिइनन् । भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व. प्रकाश दाहालका दुबै छोरा प्रणब र प्रसिद्ध सहभागी थिए । जेठी बुहारी सिर्जना त्रिपाठी भने त्यो जमघटमा सहभागी थिइनन् ।

यसैगरी जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरीहरु समेत राष्ट्रपति निवास पुगेका थिए ।

उक्त रमाइलो भेटघाट कुनै राजनीतिक नभएको र पारिवारिक मात्र भएको उच्च स्रोतले बतायो । ‘सबै परिवार काठमाण्डौमा भएका बेला परेकाले यो संयोग मात्र हो, ’ स्रोतले भन्यो, ‘ हिजोको भेटमा कुनै राजनीतिक स्वार्थ छैन, उहाँहरुबीच पारिवारिक सम्बन्ध स्थापित भएकाले यो भेट भएको हो ।’

राष्ट्रपति भण्डारीले दाहालको सिंगै परिवारलाई डिनरमा बोलाउनुको अर्को भावनात्मक कारण सीता दाहाल पनि हुन् । यसअघि पुत्रवियोग परेकी दाहाललाई राष्ट्रपतिले लाजिम्पाटमा पुगेर दुई सहानुभूति दिएकी थिएन् ।

पतिवियोग पर्दा पनि आफू सम्हालिएको प्रशंग सुनाउँदै त्यसबेला राष्ट्रपतिले सीता दाहाललाई सम्हालिन भनेकी थिइन् । त्यहीँदेखि राष्ट्रपति र दाहाल परिवारबीच भावनात्मक सम्बन्ध बढेको स्रोतले बतायो ।