राजनीति

बाबु हत्यारा ! छोराले गरे ३८ वर्षपछि सहिद घोषणा, यसरी भएको थियो छिन्ताङ घटना

काठमाण्डौ । २०३७ सालमा धनकुटाको छिन्ताङमा सामूहिक हत्या गरिएका १६ जनालाई सरकारले सहिद घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

पञ्चायतकालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको पुष्टि भएपछि छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो ।

कम्युनिष्टहरुले पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएकाहरुको हत्याका प्रमुख योजनाकार तत्कालिन प्रधानमन्त्री थापा रहेको आरोप लगाउँदै आएका छन् । तर, घटनाको ३८ वर्षपछि उनै थापा पुत्र सुनिल बहादुर थापाको प्रस्तावमा मारिएकाहरुलाई सहिद घोषणा र मृतक परिवारलाई १०–१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको हो ।

अघिल्लो महिना सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मन्त्री थापा पराजित भएका थिए । २०४६ सालमा बहुदल आएपछि एमाले पटकपटक सरकारमा सहभागी भयो । ०६२–०६३ पछि मात्र एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री भए ।

माओवादीबाट पुष्पकमल दाहाल र बाबुराम भट्टराईले सरकारको नेतृत्व गरे । तर, सधैं सुखानी काण्डका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्ने उनीहरुले आफू सरकारमा भएका बेला मृतकलाई सहिद घोषणा गरेनन् ।

यता थापा पुत्रले बाबुको त्रचाउ गर्दै राज्यव्यवस्थाविरुद्ध बिद्रोह गरेकाले राज्यले आफ्नो जिम्मेवारी अनुसार कार्वाही गरेको बताएका छन् ।

‘त्यसक्रममा ज्यादति अवश्य भयो होला । केही मानिस मारिए । त्यसपछि गाउँलेहरु डराए, भागे । त्यसक्रममा कोही मानिस भीरबाट लडेका रहेछन्, कोही नदीमा हाम्फालेछन्’, उनले भनेका छन्, ‘जो मारिए, सबैलाई राज्यले मारेको होइन । डरले गर्दा भाग्दाभाग्दै लडेर, डुबेर उनीहरुको मृत्युभयो । उनीहरुप्रति राज्यले न्याय गर्नुपथ्र्यो । त्यही सोचेर मैले शहीद घोषणाको प्रस्ताव लगेको हुँ ।’

यी हुन् सहिद घोषणा गरिएकाहरू

  • गोपालआनन्द राई
  • गंगाबहादुर तुर्हाङ राई
  • भैरवबहादुर खालिङ
  • बलबहादुर खत्री
  • पुत्रमान राई
  • टंकबहादुर विश्वकर्मा
  • रणध्वज पुमा राई
  • गणेशबहादुर विश्वकर्मा
  • हाङ्खिमा साइँली राई
  • झगेन्द्र राई
  • धनवीर दर्जी
  • चन्द्रबहादुर दमाईं
  • रामकुमारी राई
  • गम्भीरमान दर्जी
  • केशरमान राई
  • लाखमान साधु राई

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ । युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए ।