खेलकुद

बार्सिलोनाका स्ट्राइकर मेस्सी रियलले किन भित्र्याउन सकेन ?

एजेन्सी । सन् २०१३ मा स्पेनिस ला लिगा क्लब रियल मड्रिडले ग्यारेथ बेललाई कीर्तिमानी मूल्यमा क्लब भित्र्याउनु पूर्व अर्का स्टार खेलाडी बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लब ल्याउने प्रयास गरेको थियो ।

फुटबल लिक्सले सार्वजनिक गरेको प्रमाणका आधारमा डेर स्पिइगेलमा छापिएको खबरमा रियल मड्रिडले वर्षको २३ मिलियन युरो पारिश्रमिक दिने गरी मेस्सीलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको थियो । सन् २०२१ सम्म नै २३ मिलियन युरो पारिश्रमिक दिने तथा दुई सय ५० मिलियन रिलिज क्लब राखेर रियल मड्रिडले मेस्सीलाई क्लब भित्र्याउने प्रयास गरेको थियो । यस्तै मेस्सीको एजेन्ट पनि रहेका उनका पिता जर्ज मेस्सीलाई थप १० लाख युरो दिने प्रस्ताव पनि रियलले गरेको थियो ।

रियल मड्रिडले उनका वकिल इनिगो ख्वारेज मार्फत मेस्सी र उनका पितासम्म प्रस्ताव पुर्‍याएको थियो । रियल मड्रिडले निजी जेटमा मेस्सी, क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेज, मेस्सीका वकिल ख्वारेज, रियलका स्पोर्टिङ निर्देशक मिगुएल पार्डेजा र क्लबका वकिलसहितमो बैठक गर्ने तयारी पनि गरेको थियो ।

रियल मड्रिडले ख्वारेजसँग मेस्सी क्लबमा आए स्पेनिस प्रधानमन्त्री मारियानो रोजोयलाई भनेर मेस्सीमाथि लागेको करछलीको आरोप र त्यसमा भइरहेको अनुसन्धान रोक्ने प्रतिबद्धता पनि गरेको खबरमा दाबी गरिएको छ । तर रियल मड्रिडले भने दाबी अस्वीकार गरेको छ । तर मेस्सीलाई क्लब भित्र्याउने रियलको प्रयास सफल भने भएन ।