आर्थिक

भन्सार सेवा विस्तार गर्न पहल गर्ने

विराटनगर । मोरङको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयको सेवा विस्तार हुुने भएको छ । उक्त क्षेत्रसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाले छोटी भन्सारको सेवा विस्तार गर्न पहल गर्न लागेका हुुन् ।

छोटी भन्सारको सेवा विस्तार हुुन नसक्दा सीमावर्र्ती क्षेत्रबाट हुुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । जिल्लाका रंगेली, सुुनवर्सी तथा रतुुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले भन्सार सेवा विस्तारका लागि पहल गरेका छन् ।

रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडियाले आयात निर्यातका लागि मालबाहक सवारी साधनलाई आवतजावतका लागि रंगेली सीमा नाका जोड्ने सडक विस्तार गरिने बताए । भन्सारको सेवालाई प्रभावकारी बनाउन उक्त नगरपालिका तथा गाउँपालिकाले सीमा जोडिएका मुुख्य सडकलाई विस्तारका साथै कालोपत्र गर्नेसमेत योजना बनाएको धनपाल गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए ।

सो क्षेत्रमा रहेको मायागञ्ज भन्सार, रंगेली नगरपालिकामा रहेको चोप्रास्थित छोटीभन्सार, सुुनवर्सी नगरपालिकामा रहेको सिकटी डायनिया भन्सार तथा रतुुवामाई नगरपालिकाअन्तर्गतको कुुटुुमगञ्ज, डोरिया तथा छलगाछी भन्सार सेवा विस्तार हुुन लागेको हो ।

भन्सारको सेवा सञ्चालनका लागि मन्त्रालयसँग पहल भइरहेको धनपाल गाउँपालिकाका अध्यक्ष सिंहले बताए । छोटी भन्सारको सेवालाई प्रभावकारी बनाउन ती स्थानीय तहले आफ्नो वार्षिक बजेटमा समेत सो कार्यक्रमलाई समावेश गरेका छन् ।

सीमा क्षेत्रका विभिन्न नाकामा छोटी भन्सार कार्यालय भए पनि भन्सारले सेवा विस्तार गर्न सकेको छैन । छोटी भन्सारको सेवा विस्तार भएपछि चोरी निकासी नियन्त्रणमा आउने र राजश्व असुुलीमा समेत वृद्धि हुुने देखिन्छ ।