स्वास्थ्य

दन्त चिकित्सकको सम्मेलन धुलिखेलमा

धुलिखेल, काभ्रे । कृत्रिम दाँत, आँखा, नाक र कान बनाउने विशेषज्ञ चिकित्सक दन्त स्वास्थ्यका बारेमा छलफल गर्न काभ्रेको धुलिखेलमा भेला हुनेभएको छ ।

नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौा राष्ट्रिय सम्मेलन तथा प्रदर्शनीमा भेला भएका चिकित्सकले डिजिटल प्रविधिबारे प्रयोगात्मक अभ्यास पनि गर्नेछन् ।
अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्यान्ड, हङकङ, बंगलादेश, भारत र नेपालका विज्ञले सम्मेलनमा इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, तार बाँध्ने उपचारलगायतका विषयमा शोधपत्र प्रस्तुत गर्ने आयोजक समितिका सचिव डा सिदार्थ दिक्षितले बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका डिन प्रा डा राजेन्द्र कोजुले सरकारले दन्त स्वास्थ्यलाई प्राथमिकतामा नराखेको बताए ।

उनले भने, “नेपालमा दन्त स्वास्थ्यको राम्रो उपचार गर्ने चिकित्सक उत्पादन भइसक्नुभएको छ तर सरकारले राम्रो व्यवस्थापन गर्न सकेको छैन, यसलाई जिल्लादेखि प्राथमिक स्वास्थ्य संस्थासम्म विस्तार गरिनुपर्छ, हरेक स्वास्थ्य संस्थामा छुट्टै दन्त विभाग आवश्यक छ ।”

सोसाइटीका अध्यक्ष प्रा डा विनोद आचार्यले सम्मेलनमा पछिल्ला डिजिटल प्रविधिका बारेमा प्रयोगात्मक छलफल हुने बताए ।

‘प्रोस्थोडोन्सियामा डिजिटल प्रविधिलाई बढावा’ भन्ने नारा दिइएको सम्मेलनमा स्नातकोत्तर अध्ययनरत दन्त चिकित्सकको प्रतियोगितात्मक पोष्टर तथा शोधपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलन पछि हुने सोसाइटीको साधारणसभाले दुई वर्षका लागि नौ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गरी डेढ सय भन्दा बढीको सहभागिता छ ।