राजनीति

प्रधानन्यायाधीशपछि अब केपी ओली डा. केसीको निसानामा, सडकबाटै आयो कडा चेतावनी !

काठमाण्डौ । डा. गोविन्द केसीको समर्थन र प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै माईतिघरमा गरिएको प्रर्दशन अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ सोझिएको छ ।

बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गरिएको उक्त प्रर्दशनमा बोल्दै अधिवक्ता ओमप्रकाश अर्यालले डा. केसीकोविरुद्धमा बोल्ने ओलीको दिन गन्ति सुरु भएको चेतावनी दिए । उनले ओलीको २०२८ सालदेखिको ट्र्याक रेकर्ड आफूसँग रहेको भन्दै अबको निसाना ओली भएको बताए ।

‘केपी ओली माफियाको मतियार मात्र होइन, हत्यारा पनि हुन्’, उनले भने, ‘गोविन्द केसीविरुद्धको अभिव्यक्ति दिएर उनले तीन करोड नेपालीको मन दुखाएका छन् ।’

अधिवक्ता अर्यालले नेपालमा कुनै पनि पार्टी राष्ट्रवादी नभएको बताए । उनले भने, ‘यो देशमा कोही राष्ट्रवादी पार्टी छन् भने कि त डा. गोविन्द केसी र उनको आन्दोलनमा जोडिएका साथीहरु छन् ।’

डा. केसीका सहयोगी डा अभिशेक राज सिंहले केपी ओलीलाई माफियाको घेराबाहिर आएर बहस गर्न चुनौती दिएका छन् ।

‘उपचार गर्न विदेश जाँदै गर्दा ओलीले तीन करोड नेपालीको भविष्यका लागि लडिरहेका डा केसीलाई जुन अभिव्यक्ति दिनुभएको छ त्यसले तपाईको स्तर निर्धारण गर्छ । कमरेड ओली तपाईले अति गर्नुभयो अब तपाईका दिनगन्ति सुरु भए ।’

बुधबार उपचारका लागि बैंकक उड्नअघि विमानस्थलबाट ओलीले निर्वाचन आयोगलाई केही कानुनी समस्या आइपरे गोविन्द केसीलाई सोध्न’ भन्दै व्याङ्ग्यात्मक टिप्पणी दिएका थिए । उनले भनेका थिए, ‘‘निर्वाचन आयोगलाई कानुनी कुराहरुमा अप्ठ्यारो लाग्यो भने गोविन्द केसी जीलाई सोध्नुभए पनि हुन्छ । केसीजीले धेरै कुराहरु फटाफट भनिराखेको अवस्था छ के भने भनेर, त्यो अदालतले पनि जान्ला ।’

अहिले आएर ओलीलाई उक्त अभिव्यक्ति टाउको दुखाईको विषय बन्दै आएको छ ।