अन्तर्राष्ट्रिय

उडिरहेको जहाजभित्र महिला पाइलट र पुरुष पाइलटबीच हानाहान !

एजेन्सी । बेलायतस्थित लन्डनबाट मुम्बईका लागि उडेको जेट एयरवेजको ककपिटमा दुई पाइलटबीच नै झगडा भएको छ । अहिले ती दुवै पाइलटलाई निष्काशन गरिसकिएको बीबीसीले जनाएको छ ।

विमानले दिएको बयानअनुसार जनवरी १ मा नयाँ वर्षका दिन उडानकै क्रममा दुई पाइलटबीच झगडा हुँदा उपस्थित पुरुष पाइलटले महिला पाइलटलाई झापड हानेका थिए । यसरी झगडाले गम्भीर रुप लिएपछि विमान उडिरहेकै अवस्थामा नियमको उल्लंघन गर्दै पीडित पाइलट ककपिटबाट बाहिर निस्किएकी थिइन् ।

३२४ जना यात्रु बोकेको सो विमानका प्रत्यक्षदर्शीले यस्तो खबर गरेको भारतीय सञ्चार एजेन्सीले बताएका हुन् । त्यहाँ पुरुष पाइलटले त्यसरी पिटेपछि ती महिला पाइलट रुदैँ ककपिटबाट बाहिरिएकी थिइन् । उपस्थित अन्य कर्मचारीहरूले लामो समय लगाएर उनलाई सम्झाएपछि मात्र उनी ककपिटभित्र फर्किएको र विमान सुरक्षित रूपमा मुम्बईमा अवतरण गर्न सफल भएको बताइएको छ ।

यस घटनाबारे जेट एयरवेजका प्रवक्ताले भने, ‘यात्रुको सुरक्षालाई जोखिममा राखिएको हुनाले यस घटनालाई हामीले गम्भीर रूपमा लिएका छौँ । जेट एयरवेजका लागि सुरक्षा सबैभन्दा बढी महत्वको विषय हो त्यसैले अब फेरि यस्तो नदोहोर्याउनका लागि हामी सावधानी अपनाउनेछौँ ।’