पु.समाचार

अदालतमा आफ्नै जित भए पनि किन तोडेनन् गोविन्द केसीले अनशन ? यस्तो छ कारण

काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले अनशन जारी राख्ने भएका छन् । केसीको माग बमोजिम अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रका विषय अध्ययनका लागि कागजात मगाउने आदेश गरे पनि केसीले अनशन नतोड्ने बताएका छन् ।

केसीले बुधबार सहयोगसँग परामर्श गरेर अनशनबारे निर्णय लिने बताएका थिए । तर, बिहीबार उनका सहयोगी डा. अभिषेकराज सिंहले केसीले अनशन जारी राख्ने निधो गरेको बताए । सिंहले भने, ‘तत्काल अनशन नतोड्ने कुरा भयो।’

प्रधानन्याधीशले आफूमाथि लागेको आरोप पुष्टी नगरेसम्म आफू अनशन बसिरहने स्रोतको दाबी छ ।

स्रोतले सूर्यखबर प्रतिनिधिसँग भन्यो, ‘उहाँले अनशन तोडे प्रधानन्यायाधीशमाथि लागेको आरोप सेलाएर जानेछ त्यसैले उहाँले आफ्ना माग पूरा नहुन्जेलसम्म अनशन जारी राख्नुहुन्छ । माग पूरा नहुन्जेल उहाँले कहिले पो अनशन तोड्नु भएको छ र ?’

]यसैबीच अदालतको आदेशपछि प्रधानन्यायाधीशलाई पदबाट अलग रहन दबाव दिनका लागि केसी समर्थकले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् । दिउँसो १ बजे माइतीघरमा र्‍याली निकाल्ने तयारी केसी समर्थकको छ ।