अन्तर्राष्ट्रिय

सरकारले युद्धविराम उलंघन गरेको विद्रोही पक्षको आरोप

जुबा । सुडान पिपल्स लिबरेशन आर्मीले दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलंघन भएको आरोप लगाएको छ । पूर्व प्रथम उपराष्ट्रपति रिएक माचार नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलंघन भइरहेको बुधबार बताएको छ ।

सरकारी पक्षबाट विद्रोहीहरू माथि मंगलबार मानवीय क्षति नै हुनेगरी राजधानी नजिकै आक्रमण भएको भन्दै सो समूहले सरकारी पक्षमा दोषारोपण गरेको हो ।

“मंगलबार बिहान स्थानीय समयअनुसार झण्डै १०.३० बजेतिर सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरू माथि आक्रमण गरेका छन्,” विद्रोहीका उपप्रवक्ता लाम पौल गाव्रिले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले थपे, “उनीहरूले राजधानी लुरीदेखि तीन किलोमिटर टाढा पर्ने वुनु ल्याटमा आक्रमण गरेका हुन् ।”

दुई वटा जीपमा आएका आक्रमणकारीहरूले आक्रमण गरेपछि मारिएका चार जनाको शव घटनास्थलमै छाडेका थिए । आक्रमणमा परी अरु ६ जना घाइते पनि भएको उप प्रवक्ता गाब्रिले जानकारी दिए ।

दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको रोहबरमा सरकारी पक्ष र विद्रोही पक्षका बीचमा सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो ।