राजनीति

जनादेश अनुसारको सरकार गठन नभए मुलुक अस्थिरतातर्फ धकेलिन्छः अध्यक्ष थापा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताए ।

संविधान निर्माणका क्रममा रहेका केही कानुनी अस्पष्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उनले भने – ‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ । त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ ।’

प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उनले औँल्याए ।

उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरणमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन आफ्नो पार्टीले सार्वजनिक विदा माग गर्दै आएकामा सरकारले यसपटक विदा दिएको र त्यसमा सबै दलको सहमति रहेको प्रष्ट पारे ।