कृषि

पाँच हजार हेक्टरमा हिउँदे तरकारी

कलैया । बाराका किसानले यस वर्ष हिउँदे तरकारी काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् ।

जिल्लामा कूल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उक्त हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कूल ८३ हजार ५३८ मेट्रिक टन तरकारी उत्पादन हुने कार्यालयले जनाएको छ । हालसम्म किसानले ५० हजार १३२ मेट्रिक टन तरकारी उत्पादन गरिसकेका छन् ।

हाल कलैया बजारमा काउली प्रतिकिलो रु २५ देखि रु ३०, भन्टा रु २० देखि रु २५, गोलभेँडा रु ४०, केराउ रु ७० र मूला रु १५ देखि रु २० सम्ममा बिक्री भइरहेको छ ।

आव २०७३÷७४ मा कृषकले कुल पाँच हजार ४७५ हेक्टरमा हिउँदे तरकारी खेती गरी कूल ८३ हजार ८२२ मेट्रिक टन तरकारी उत्पादन गरेका कार्यालय प्रमुख शिवरत्न साहले जानकारी दिए ।