राजनीति

यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छः उपराष्ट्रपति पुन

हेटौँडा । उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन गर्दै उनले भने, “यातायात क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न नीतिगत सुधारको खाँचो छ ।”

उपराष्ट्रपति पुनले मुलुकको राजस्वमा १० प्रतिशत योगदान पु¥याइरहेको यो क्षेत्रको विकास र विस्तारका लागि सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्ने बताउँदै केही दुर्गम जिल्लामा यातायात सेवा अहिले पनि पुग्न नसकेकाले त्यसक्षेत्रमा सडक सञ्जाल पु¥याउनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल तथा प्रदेशसभा सदस्यद्वय इन्द्रबहादुर बानियाँ र प्रेमबहादुर पुलामीले सडक दुर्घटना नियन्त्रणमा यातायात व्यवसायी र राज्य दुवै गम्भीर हुनुपर्नेमा जोड दिदैं जनताको हितका लागि ढुवानी कार्य सहज बनाउन आग्रह गरे ।

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले नेपालको कुना काप्चासम्म यातायात तथा सामान ढुवानी सेवा निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै सडक थप, फराकिलो र गुणस्तरयुक्त निर्माण गरी यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन राज्यले नीतिगत सुधार गर्नुपर्ने र यसका लागि छुट्टै यातायात मन्त्रालयको माग गरे ।

सो अवसरमा उपराष्ट्रपति पुनले नारायणी यातायात व्यवसायी संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे ।