खेलकुद

नेत्रहिन विश्वकप: नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित

काठमाण्डौ । नेत्रहिन विश्वकपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९.१ आभेरमा १ विकेट गुमाएर भेटायो ।

पाकिस्तानका ओपनर बादर मुनिरले विस्फोटक शतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले १२६ रन जोडे । त्यस्तै, महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा नटआउट रहे ।

त्यसअघि पाकिस्तानको जिन्नाह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो ।

नेपालका रमेश बहादुर बानियाँ र पदम बडैलाले अर्धशतकिय पारी खेले । यस्तै बन्द्री चौलागाई अर्धशतक बनाउन एक रनले चुके ।

७२ बलमा रमेशले ५९ रनको पारी खेले । सो क्रममा उनले २ चौका प्रहार गरेका थिए । त्यस्तै पदमले ४३ बलमा ५० रन जोड्दा २ चौका प्रहार गरे ।

नेपालका लागि अन्य ब्याट्सम्यानहरु बन्द्री चौलागाई ४९ रन बनाए भने खिमानन्द गैरेले नटआउट ३० तथा भरत थापाले ११ रन जोडे । नेपालले दोस्रो खेलमा भोली बंगलादेशको सामना गर्नेछ ।