राजनीति

राप्रपासँग पार्टी एकता गर्न एकीकृत राप्रपा (राष्ट्रवादी) छलफलमा व्यस्त

काठमाण्डौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को राप्रपा र राप्रपा (प्रजातान्त्रिक)सँग एकता गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा शुरु भएको बैठकमा वैचारिक दृष्टिकोणमा दुवै पार्टी प्रष्ट भएमा पार्टीलाई एकता गरी फरक अस्तित्व कायम गर्न सकिने विषयमा छलफल हुनेछ ।

डा लोहनीको राजनीतिक प्रतिवेदनमा पार्टीको वैचारिक नीतिमा हिन्दू राष्ट्र र राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्थालाई न्यूनतम सर्तका रुपमा समावेश गरिएको छ ।

परिवर्तित अवस्थामा जनताको चाहनालाई सम्बोधन गरी देशभर रहेका राष्ट्रवादी शक्तिलाई एकजुट बनाउन पार्टीले भूमिका निर्वाह गर्ने, स्थानीय तहदेखि नै संगठन सुदृढीकरण गर्नेलगायत विषयमा पनि छलफल गरिने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो । राप्रपाले यसअघि नै पार्टी एकताका लागि आग्रह गरिसकेको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भएका अन्तर्घात, आन्तरिक विवाद, पार्टी अनुशासनविपरीत कार्य गरेका नेतालाई प्रष्टीकरण लिने र कारबाही गर्ने वा नगर्नेबारे निर्णय लिने छ ।