पर्यटन/संस्कृति

नेपालको हवाई क्षेत्र सुरक्षित बनाउन अन्तर्राष्ट्रिय संस्थासँग समन्वय

काठमाण्डौ । दक्षिण एशिया हवाई उड्डयन सुरक्षामा सहकार्यात्मक विकास तथा उडान योग्यताको निरन्तरतासम्बन्धी संस्था कोस्क्याप–एसएको २६औँ स्थायी कमिटीको सञ्चालन समिति बैठक यहाँ शुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको बैठकमा सार्कका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा उड्डयन क्षेत्रमा संलग्न प्राविधिकको सहभागिता छ ।

बैठकले दक्षिण एशियाली मुलुकको नागरिक उड्डयन सुरक्षा र सेवा प्रभावकारी बनाउने सन्दर्भमा वार्षिक कार्यक्रमको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेछ ।

बैठकको आज यहाँ उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन अन्तर्राष्ट्रिय मुलुकका हवाई सुरक्षासँग सम्बन्धित संस्थाको समन्वय र सहकार्यलाई थप मजबुत बनाइएको बताए ।

उनले हवाई उड्डयन सुरक्षा क्षेत्रमा काम गर्ने दक्षिण एशियाली मुलुकबीच हवाई उडान सुरक्षाका लागि आपसी समन्वयका साथ साझा धारणा बनाउन र द्विपक्षीय सम्बन्ध विस्तारमा बैठकको महत्वपूर्ण भूमिका हुने बताए ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले दक्षिण एशियाको नागरिक उड्डयन क्षेत्रमा भएका गतिविधिको समीक्षा र आगामी रणनीति तय गर्न बैठक उपयोगी हुने तथा यसबाट आपसी समन्वय र सहकार्यबाट नागरिक उड्डयनलाई सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने उल्लेख गरे ।

क्यानका उपमहानिर्देशक राजन पोखरेलले दक्षिण एशिया क्षेत्रमा नागरिक उड्डयनलाई सुरक्षित र भरपर्दो बनाउन नियमनकारी निकायको सुरक्षा सुपरीवेक्षण, क्षमता अभिवृद्धि तथा विमानको मर्मतसम्भार गर्ने र उडान सञ्चालन गर्ने कुरालाई संस्थाले बढी प्राथमिकता दिएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक अरुण मिश्रले दक्षिण एशियाली मुलुकको समन्वय र सहकार्यमा नागरिक उड्डयनलाई सुरक्षित बनाउन चालिएका कदमबाट पछिल्ला वर्षमा हवाई सुरक्षामा सकारात्मक नतिजा पाइएको जानकारी दिए ।

कोस्क्याप–एसएका अध्यक्ष हुसेन जलिलले उडान सुरक्षण र सेवा प्रभावकारिताको हिसाबले दक्षिण एशिया क्षेत्रमा नागरिक उड्डयनको स्तर निकै माथि रहेको बताउँदै एशिया क्षेत्रमा हवाई यात्रु बढ्नाका साथै प्रशस्त रोजगारी सिर्जना भएकाले सम्बन्धित मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पनि महत्वपूर्ण योगदान पुगेको जानकारी दिए ।

इन्टरनेशनल एभिएसन ट्रान्सपोर्ट एशोसिएसनअनुसार एशिया प्रशान्त क्षेत्रमा रोजगारी सिर्जना गर्नमा नागरिक उड्डयनको १.४ प्रतिशत तथा कूल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशत योगदान भएको र करिब तीन करोड ४० लाखलाई रोजगारी दिइएको छ ।

दक्षिण एशियाली मुलुकबीच उडान सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले आइकाओको पहलमा सन् १९९७ मा कोस्क्याप–एसए स्थापना भएको थियो । अहिले संस्थाको अध्यक्ष माल्दिभ्स रहेको छ । आगामी सन् २०१९ मा नेपालले त्यसको नेतृत्व लिनेछ ।