सूचना प्रविधि

नेताहरुको अकाउन्ट बन्द नगर्ने ट्विटरको घोषणा

एजेन्सी । जरुरी राजनीतिक मुद्दाहरुमा हुने चर्चाको महत्वमा जोड दिँदै ट्विटरले विश्वका चर्चित नेताहरुले विवादित ट्विट गरेपछि उनीहरुको ट्विटर अकाउन्ट ब्लक नगर्ने प्रष्ट पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियारका सम्बन्धमा पछिल्लोपटक गरेको निकै चर्चित र विवादित ट्विटका विषयमा बहस चलिरहेका बेला ट्विटरले यस्तो प्रष्टिकरण दिएको हो ।

डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई धम्की दिँदै आफुसँग ठूलो परमाणु हतियारको स्विच रहेको भनी ट्विट गरेको विषयले विश्वमा तहल्का मच्चाइरहेको छ । ट्रम्पको हिंसा फैलाउने खालको धम्कीयुक्त ट्विटलाई ट्विटरले आफ्नो प्लाटर्फममा स्थान दिएको भन्दै ट्विटरको आलोचना भइरहेको छ ।

सोही सन्दर्भमा ट्विटरले एक ब्लग पोष्टमार्फत भनेको छ की ट्विटर सेवा प्रदान गर्नेसँगै विश्वस्तरमा मानिसहरुबीचमा सम्वाद र बहसलाई बढावा दिनका लागि हो ।

ट्विटरले भनेको छ, ‘यस बहसमा निर्वाचित विश्वस्तरीय नेताहरुले अहम भूमिका निभाउँछन् किनकी हाम्रो समाजमा उनीहरुको गहिरो प्रभाव छ । विश्वस्तरीय नेतालाई ट्विटरमा ब्लक गर्नु वा उनीहरुका विवादित ट्विट हटाउनाले अहम जानकारीहरुमाथि पर्दा लाग्दछ, जुन मानिसहरुले देख्नु तथा चर्चा गर्नु आवश्यक हुन्छ ।’