राजनीति

देउवा सरकारले गरेका सबै निर्णय उल्टिन्छन्ः शेरधन राई

भक्तपुर । नेकपा एमालेको युवा नेता तथा पूर्वमन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगको पछिल्लो गतिविधिलाई नियाल्दा देशी विदेशी शक्तिको तुरुपको र संविधानवपरित काम गरिरहेको आरोप पनि लगाएका छन् ।

राईले देउवा सरकारले जनादेश र संविधानविपरित आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय वाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए ।

वाम गठबन्धन टुटाउन देशी–विदेशी शक्ति लागिपरेको बताउँदै उनले भने, ‘जनताले पार्टी एकीकरण गर्न नसके पनि न्यूनतम् पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अब एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालको विकल्प नभएको भन्दै उनले नयाँ पुस्ता सक्ष्म भएता पनि वाम गठबन्धनका केही व्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्री भने पनि समयसापेक्ष नरहेकोे बताए ।

प्रदेश सरकारका लागि सबैभन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै उनले समस्या देखिए पनि समाधान गर्न स्रोत साधनको उपयोग गरिने उल्लेख गरे । केही समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्य मन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको उनले बताए ।