पु.समाचार

शुक्लाफाँटाका ४०० घर शौचालयविहीन

कञ्चनपुर । दुई वर्षअघि खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा शौचालय छैनन् ।

प्रायः विपन्न र दलित समुदायका घरमा शौचालय नभएको पाइएको छ । अर्थ र चेतना अभावले अधिकांशले शौचालय नबनाइएको बताइएको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताए ।

शौचालय नभएका परिवारले खेत, सार्वजनिक सडक, खोला र वन क्षेत्रमा खुला रुपमा शौच गर्दै आएको पाइएको छ । उनले भने, “यसबाट वातावरणमा नराम्रो प्रभाव परेको छ ।” नगरपालिकाका वडा नं १ मा १८, २ मा ३९, ३ मा २४, ४ मा ३६, ५ मा ६४, ६ मा ११, ७ मा ५३, ११ मा २२ र १२ का ३८ घरमा शौचालय नभएको बताइएको छ । उनका अनुसार वडा नं ८, ९ र १० मा शतप्रतिशत परिवारका घरमा शौचालय निर्माण गरिएको छ ।

शौचालय भएकामध्ये १० प्रतिशतभन्दा बढीले शौचालय नै प्रयोगमा नल्याएको पाइएको छ । शौचालय दाउरा, घाँस र गुइँठा राख्ने स्थानका रुपमा परिणत गरेका छन् । शुद्ध पेयजलको पहुँच पुगेका परिवारको संख्या भने नगरपालिकामा १४ मात्रै छ ।

निजी र सामुदायिक गरी ५८ विद्यालयमध्ये २० विद्यालयमा छात्राका लागि छुट्टै शौचालय नभएको पाइएको छ । भएका शौचालयसमेत प्रयोग गर्न नसकिने अवस्थामा छन् । पाँच वटा मात्रै विद्यालयमा शुद्ध पेयजलको व्यवस्था छ ।

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारले नगरपालिकाले सबै सेवा सुविधा रोक्दा समेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी रुपमा बनाएका शौचालय बिग्रिएका कारण खेतमा शौच गर्न बाध्य भएको नगरपालिकाका कर्मचारीको भनाइ छ ।

मन्दिर र सार्वजनिक अधिकांश स्थानमा शौचालय नभएकाले तत्काल यस्ता ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

नगरपालिकाका सबै बासिन्दामा शौचालयको पहुँच पु¥याउनका लागि सबैको सहयोगको खाँचो रहेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन शौचालय निर्माणसँगै शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानी, सुरक्षित पानीको प्रयोग, सुरक्षित खाना, सफा घरआँगन र वातावरण बनाउनका लागि काम अगाडि बढाइने उनले बताए। नगरपालिकालाई गत साल पुस १२ गते नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।

नगरपालिकामा बसोबास गर्ने नौ हजार २७४ परिवारमध्ये दलित समुदायका एक हजार ११३, जनजाति समुदायका दुई हजार १८४ र अन्य समुदायका पाँच हजार ९७७ परिवार बसोबास गर्दै आएका छन् ।