पु.समाचार

लाइसेन्स लिँदै हुनुहुन्छ ? एक घण्टामा नै यसरी पाइन्छ सेवा

ललितपुर । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउन पुग्ने सेवाग्राहीले सजिलै र समयमै सेवा पाउन थालेका छन् ।

सेवाग्राहीले आधा÷एक घण्टामा नै सेवा पाएर फर्कन सक्ने कार्यालयका प्रमुख तेज नारायण यादवले बताए ।

कार्यालयले प्रणालीमा गरेको सुधार, उपत्यकाका अरु तीन ठाउँमा सेवा शुरु तथा देशका अरु अञ्चल कार्यालयमा समेत स्मार्ट कार्ड शुरु हुँदा सेवाग्राहीले चाँडो सेवा पाउन थालेको उनको भनाइ छ । पहिले दैनिक ८०० जनाले चालक प्रमाणपत्रको फाराम भर्ने गरेका थिए । अहिले उक्त संख्या दुई पांग्रे र तीन पांग्रे दुवैमा २००-३०० को हाराहारीमा छ ।

उनले भने, “अहिले चाप कम भएकाले सेवाग्राहीलाई हामीले समयमै सेवा दिन सकेका छौँ र गुनासो पनि छैन ।” दुई महिना अघिसम्म कार्यालय समय १० बजेबाट शुरु भए पनि सेवाग्राही बिहान ४–५ बजेबाट नै लाममा बस्ने गरेका थिए । अहिले कार्यालय समयमा मात्र सेवाग्राही आउन थालेका छन् ।

उनले भने, “फाराम भर्न र लिखित परीक्षा दिन सेवाग्राहीले दिनभर बस्नुपर्ने अवस्था अहिले छैन ।” प्रविधि सुधारमा ध्यान दिएका कारण सेवाग्राहीले चाँडो सेवा पाएको यादवको भनाइ छ ।