प्रवास

ट्रम्प प्रशासनले टिपिएस सेवा बन्द गर्ने, अमेरिका छिरेका नेपालीको भविष्य के होला ?

काठमाण्डौ । आप्रवासीप्रति कठोर रुपमा प्रस्तुत हुदैं आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इल साल्भाडोरका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस)सेवा बन्द गर्ने भएका छन् ।

यस देशका नागरिकलाई प्रदान गर्दै आएको टिपिएस सेवा सेप्टेम्बर ९, २०१९ बाट बन्द हुने अमेरिकी इमिग्रेसन हेर्ने होमल्यान्ड सेक्युरेटीले जनाएको छ ।

टिपिएस अवैध रुपमा अमेरिका बसोबास गरिरहेका विभिन्न देशका नागरिकलाई विपदका बेला निश्चित समयका लागि प्रदान गरिने वैधानिक सुविधा हो । इल सल्भाडोरमा सन् २००१ मा भूकम्प गएसँगै अमेरिकामा अवैध रुपमा बसिरहेका त्यहाँका नागरिकले यो सेवा पाएका थिए ।

ट्रम्प प्रशासनको यो निर्णयसँगै २ लाख ६५ हजार सल्भाडोरका नागरिकले अमेरिका छाड्नुपर्नेछ वा उनीहरुले अमेरिकामा बस्न वैधानिक प्रक्रिया थाल्नुपर्नेछ । अमेरिकामा सुडान, हैटी, निकरागुवा, नेपाललगायतका नागरिकले पनि यो सेवा पाउदै आएका छन् । अमेरिकामा यो सेवा सबैभन्दा धेरै सल्भाडोरका नागरिकले पाएको उल्लेख छ ।

नेपालीको कन्तविजोग

टिपिएस सेवा बन्द भएमा यसबाट नेपालीहरुसमेत प्रभावित हुने भएका छन् । नेपालमा दुई वर्षअघि भूकम्प गएपछि अमेरिकामा अवैध रुपमा बसिरहेका नेपालीलाई टिपिएस सेवा प्रदान गरिएको थियो ।

भूकम्पका कारण गत २४ जुन २०१५ देखि अमेरिकी सरकारले नेपालीहरुलाई टिपिएस सुविधा प्रदान गरेको हो ।

१८ महिनाका लागि दिदै आएको टिपिएसको म्याद यसअघि सकेर नवीकरण गरेको थियो। थपिएको म्याद आगामी २४ जुन २०१८ मा सकिदैछ ।