पु.समाचार

गोविन्द केसीको मुद्दामा पेशी तोकियो

काठमाण्डौ । अदालतको मानहानी गरेको आरोप लागेका डा. गोविन्द केसीको मुद्दाको सुनुवाईका लागि पेशी तोकिएको छ ।

डा. केसीको मुद्दा सुनुवाईका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलास तोकिएको हो । इजलास तोकिएसँगै अदालती प्रक्रिया सुरु भएको छ ।

सर्वोच्च अदालतले गलत फैसला गर्ने गरेको भन्दै डाक्टर केसीले १४ औँ अनशन थालेकै दिन उनलाई पक्रन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा.शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गरेका थिए ।

प्रहरीले सोमबार बेलुका उनलाई अनशन बसेकै ठाउँबाट पक्राउ गरेको हो । सर्वोच्चको आदेश अनुसार डा. केसीलाई प्रहरीले मंगलबार बिहान पौने ९ बजे सर्वोच्चमा उपस्थित गराएको हो । मेडिकल शिक्षामा सुधारको माग गर्दै डा. केसी यसअघि १३ पल्ट अनशन बसिसकेका छन् ।