कृषि

कफी खेतीको विकासका लागि समूह गठन

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा कफी खेतीको विकास र विस्तारका लागि गाउँपालिका स्तरीय कफी कृषक समूह गठन भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा दुई दिने कफी खेती प्रविधिसम्बन्धी प्रशिक्षण पछि कफी खेतीको विकास र विस्तारका लागि किसान उत्साहित भएका हुन् ।

किसानले हरिप्रसाद डाँगीको अध्यक्षतामा ११ सदस्यीय समूह बनाएका छन् । समूहको उपाध्यक्षमा निर्मला इङनाम, सचिवमा राजेन्द्र मिश्र, सहसचिवमा राजेन्द्र निरौला र कोषाध्यक्षमा यशोदा निरौला रहेका छन् । कफी खेतीको उच्च सम्भावना देखिएकाले किसानलाई प्रशिक्षण कार्यक्रमपछि आगामी दिनमा खेती प्रविधिको विकास र खेती विस्तारका लागि समूह गठन गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य भोजराज प्रधानले बताए ।

प्रशिक्षण कार्यक्रममा किसानलाई प्रांगारिक कफी खेती प्रविधि, कफी खेतीका लागि उपयुक्त हावापानी, माटो, रोग तथा तिनको निराकरणका बारेमा कृषि प्राविधिक दीपक चौधरीले सहजीकरण गरेका थिए । कार्यक्रम समापनको अवसरमा बोल्दै आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले आठराई क्षेत्रमा कफी खेतीको सम्भावना उल्लेख्य रहेको भन्दै किसानको चाहनालाई ध्यानमा राखेर कार्यक्रम बनाई अघि बढ्ने बताए ।

प्रशिक्षण कार्यक्रममा आठराई गाउँपालिकाका २६ जना किसान सहभागी थिए । चिया तथा कफी विकास बोर्डकै आयोजनामा पुस २६ र २७ गते फेदाप गाउँपालिकामा समेत प्रशिक्षण कार्यक्रम राखिएको बोर्डका सदस्य प्रधानले बताए । आठराई गाउँपालिकाका सयौँ किसानले गत वर्षबाट बोर्डको सहयोगमा कफी खेती थालेका छन् ।