राजनीति

बालकोटमा ओलीले यसो भनेपछि एमाले नेताहरु शंशकित ! संयोजन समितिको बैठक आज

काठमाण्डौ । लामो समयदेखि पार्टी एकता गर्ने भनिएको एमाले माअ‍ोवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्ने टुंगो लागेको छ ।

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाइएको हो । दुबै पार्टीले १७ असोजमा एकता संयोजन समितिको निर्माण गरेका थिए । बैठकका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई ३ बजे बालकोटस्थित ओली निवासमा पुग्न भनिएको छ । समितिमा एमालेका ४ र माओवादी केन्द्रका ३ नेता छन् ।

एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल सदस्यका रुपमा छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।

सोमबार बसेको पार्टी स्थायी समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटघाट र वार्ताबारे पनि ब्रिफिङ गरेका थिए ।

बालकोट स्रोतका अनुसार ओलीले छोटो ब्रिफिङ गरेका थिए । ‘हिजोको कुराकानीबाट म छिट्टै पार्टी एकता हुने कुरामा विश्वस्त छु, ’ बालकोट स्रोतले भन्यो, ‘दाहालजीसँग पहिलेपनि धेरै पटक कुराकानी भएको हो । तर हिजो उहाँको बडिल्याङ्वेज हेर्दा पार्टी एकता हुने कुरामा म कन्फिडेन्ट छु ।’

ओलीको ब्रिफिङ सुनेपछि बैठकमा सहभागी एमालेका नेताहरूले आइतबार पनि ओली र दाहालबीच धेरै कुरा टुङ्गिन बाँकी रहेको अनुमान लगाएका छन् ।

‘उहाँले बैठकमा गरेको ब्रिफिङ सुन्दा हिजोपनि पार्टी नेतृत्वबारे त्यति धेरै कुराकानी भएजस्तो लागेन । नेतृत्वबारे सामान्य छलफल भयो होला, तर आज उहाँले गरेको छोटो ब्रिफिङ हेर्दा कुरा टुङ्गिएजस्तो लागेन’ स्रोतले भन्यो ।

ओलीको भनाईबाट अझै पनि पार्टी एकता हुने कुरामा आशंका पैदा भएको छ । उनले अझै पनि ढुक्कका साथ भन्न सकेका छैनन् कि पार्टी एकीकरणको कुरा टुंगोमा पुग्यो । दुई पार्टीबीच हुने आजको बैठकले पार्टी एकीकरणलगयातका विषयमा निर्णायक भूमिका खेल्ने स्रोतको दाबी छ ।