अन्तर्राष्ट्रिय

उच्चस्तरीय वार्ता अगावै दुई कोरियाबीच छलफल हुँदै

सोल । दक्षिण कोरिया र उत्तर कोरियाबीच तय भएको उच्चस्तरीय वार्ताका लागि दक्षिण र उत्तर कोरियाबीच पारस्परिक छलफल हुने भएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार यो जानकारी दिएको छ । मङ्गलबारका लागि तय भएको सो वार्ता अगावै सम्भवतः सोमबार यो छलफल हुने भएको बताइएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका प्रवक्ताका अनुसार दुई कोरियाबीच हुन गइरहेको वार्तामा गरिने छलफलका विषय तय गर्नका सो पूर्वतयारी बैठकको आयोजना गरिएको हो ।

यसैबीच उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारको बैठकमा दक्षिण कोरियाले आयोजना गरी सहभागिताका लागि उत्तर कोरियालाई आमन्त्रण गरेको शीतकालीन ओलम्पिक खेलका बारेमा पनि आवश्यक छलफल हुनेछ ।

गत बर्षको मे महिनामा आफ्नो कार्यकाल शुरु गर्नुभएका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन बारम्बार उत्तरसँग राखेको द्विपक्षीय वार्ताको प्रस्तावको वास्ता उत्तरले गरेको थिएन ।

त्यसैले यस पटकको वार्तालाई विशेष महत्वाका साथ हेरिएको छ । सो वार्तामा पनि दुई कोरियाको आन्तरिक विषयभन्दा पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थानाका बारेमा पनि केन्द्रित हुने बताइएको छ ।

प्राय द्विपक्षीय र आपसी सम्बन्धका विषयमा वार्ता हुनेछ– सो मन्त्रालयले जनाएको छ ।

एकातर्फ आफ्नो वार्ताको प्रस्तावको बेवास्ता गर्ने र अर्कातर्पm एकपछि अर्कोगरी क्षेप्यास्त्र परीक्षण गर्दै जाने उत्तरका कारण दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले वार्ताको सम्भावना नरहेको अवस्थामा पुग्नुभएको थियो ।

दक्षिण कोरियाली विदेश मन्त्रालयका एकजना अधिकारीले भने–यो वार्ताका कारण दुई कोरियाबीच थप सम्बन्ध वृद्धि हुने अपेक्षा गरिएको छ ।

गत जुलाईमा दक्षिण कोरियाले प्रस्ताव गरेको वार्ताको एजेण्डा अहिले दुई कोरियाबीच सम्बन्ध विस्तारको प्रमुख मुद्दाका रुपमा रहेको एकीकरण मन्त्रालयका प्रवक्ताले बताए

दक्षिण र उत्तर कोरिया उच्चस्तरीय अन्तर सरकारी वार्ताका लागि पाँच÷पाँच सदस्यीय वार्ता टोलीको नामावली हालै स्थापित सिधा सञ्चार सम्पर्क (हट लाइन कम्युनिकेशन) मार्फत पठाइएको छ ।

गत शनिबार दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीको नाम दक्षिण कोरियाले पठाएको थियो भने उत्तर कोरियाले आइतबार आफ्नो तर्फका सदस्यहरुको नामावली पठाएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार मङ्गलबार यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको हो । वार्ताको तयारी व्यापक रुपमा भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधन पछि यी दुई देशको आन्तरिक राजनीतिक परिस्थिति फेरिएको छ ।

उहाँको सो सम्बोधनमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने संकेत आएको थियो ।

त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुश भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ ।

उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका छन् । उनले यो वार्ता पूर्ण रुपमा शान्ति वार्तामा पुग्न सकोस् भनी कामना गरेका छन् ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई कोरियाबीच हुन गइरहेको वार्ताको आइतबार स्वागत गरेका थिए ।

उनले भनेका थिए – म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।